काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक र विज्ञापन सम्बन्धी विधेयक प्रति आपत्ति जनाएका छन्।
सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी विभिन्न कानून ल्याउन लागेकोप्रति आपत्ति जनाउँदै नेता कोइरालाले तत्काल सच्याउन माग समेत गरे।
सरोकारवाला पक्षसँग छलफल र सहमतिमा मात्र कानून निर्माण गर्ने बहुलवादी संस्कारको वेवास्ता गर्दै सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र विज्ञापन सम्बन्धि विधेयक सुटुक्क संसदमा पेश गरिनु गम्भीर विषय भएको उनको भनाई छ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मूल्य–मान्यता, हाम्रोे संविधानको प्रस्तावनामै उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता, तत्कालिन केपी ओली सरकारले पारित गरेको आमसञ्चार सम्बन्धि नीति–२०७३ र प्रचलित अभ्यास विपरित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित र नियन्त्रित गर्ने प्रावधानहरु सहित विधेयकहरु संसदमा लानु र बहुमतको दम्भ देखाएर पारित गर्न तम्सिनु भनेको वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्रको विस्तारित रुप हो भन्ने मैले ठानेको छु।’ कोइरालाको विज्ञप्तिमा उल्लेख छ।
उनले संसदमा दर्ता भएका संचारसँग सम्बन्धीत सबै विधेयकहरु फिताई लिई पर्याप्त छलफलपछि मात्रै पेश गर्न आग्रह गरेका छन् ।