कवितामा प्रज्ज्वल र गजलमा बिमलाको बेजोड प्रस्तुति

कवितामा प्रज्ज्वल र गजलमा बिमलाको बेजोड प्रस्तुति

काठमाडाैं, १८ जेठ । आज राजधानीमा आयोजित “शाब्दिक समारम्भ” को दशौँ श्रृङ्खलामा दुई युवा साहित्यकारहरुले साहित्यिक माहौललाई निकै रोमाञ्चक बनाए । कविता तर्फ प्रज्ज्वल अधिकारी र गजलमा बिमला दाहालको बेजोड प्रस्तुति रहेको सो कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थिति थियो । हातेमालो साहित्य संगम, काठमाडौं द्वारा आयोजित उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुनिल अधिकारीले गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका महासचिव विपिन मर्मले गरेका थिए ।

शाब्दिक समारम्भको उद्देश्य एवम् शैली अन्य साहित्यिक संस्थाहरुको भन्दा भिन्न रहेको तथा अग्रज देखि अनुज सम्मलाई समेटेर साहित्यिक उन्नतिको लागि एकसाथ बढिरहेको देख्दा अत्यन्त खुसी लागेको कार्यक्रमका प्रमुख अतिथि डा. विप्लव ढकालले बताए । उनले आफ्ना अनुभूतिहरुलाई केलाउदै आफूलाई जुन विधामा विशेष रुचि छ, त्यसैमा लगनशील भएर निरन्तरता दिन सके आफ्नो सफल परिचयको विन्दु टाढा नहुने भनाइमा विशेष जोड दिए । मन्तव्यकै क्रममा विधा उही भएता पनि समयक्रम सँगै त्यसमा पृथक शैलीहरुले प्रवेश पाउने र उक्त शैली तत्कालिन समयको परिचयको रुपमा स्थापित भएर रहने कुरामा डा. ढकालले थप प्रष्ट पारे ।

कार्यक्रमका अतिथि कवि तथा गजलकारलाई प्रमुख अतिथिको हातबाट सम्मान-पत्र प्रदान गरिएको थियो । मासिक रुपमा आयोजित शाब्दिक समारम्भमा उपस्थित सर्जकहरुले पनि आ-आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरेका थिए ।