काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आज नयाँदिल्ली जाँदै हुनुहुन्छ । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भई उहाँलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री ओली नयाँदिल्ली जान लाग्नु भएको हो ।
प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रममा सहभागी हुनुहुनेछ । भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदी र उहाँको मन्त्रिपरिषद्ले आज शपथग्रहण गर्दैछ । शपथ ग्रहणमा सार्क सदस्य राष्ट्रलाई निम्ता गरिएको छ ।
प्रधानमन्त्री ओली बिम्स्टेक सदस्य मुलुकका नाताले मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुहुनेछ । भारतीय प्रधानमन्त्री मोदीले आमन्त्रित सरकार एवं राष्ट्र प्रमुखसँग भोलि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली र मोदीबीच जेठ १७ गते शुक्रबार द्विपक्षीय वार्ता हुनेछ । उहाँले बिम्स्टेक सदस्य राष्ट्रका कार्यकारीलाई सँगै राखेर पनि छलफल गर्नुहुनेछ । प्रधानमन्त्री ओलीका साथ पत्नी राधीका शाक्य, परराष्ट्र सचिव, सल्लाहाकार, शिष्टाचार महापाल र केही सहयोगी भारत जानुहुनेछ । प्रधानमन्त्री ओली भोलि स्वदेश फर्किनु हुनेछ ।
मोदीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओली, बंगलादेशी राष्ट्रपति अब्दुल हामिद, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति विन मिन्ट र भुटानी प्रधानमन्त्री लोटे छिरिङ सहभागी हुनुहनेछ ।