नेपालकोआर्थिक वृद्धिदर ७ प्रतिशत रहने

नेपालकोआर्थिक वृद्धिदर ७ प्रतिशत रहने

काठमाडौं, जेठ १३ । सरकारले आर्थिक वर्ष २०७५–७६ को आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । 

अर्थमन्त्री खतिवडाले संसदमा आर्थिक सर्वेक्षण सोमबार सार्वजनिक गर्दै आर्थिक वृद्धिदर पुनः ७ प्रतिशत हुने दाबी गरेका हुन्। उनले औसत मुद्रास्फीर्ति दर चार दशमलव दुई प्रतिशत रहने समेत बताएका छन्।

आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको, कूल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको, विगत धैरै दशकमा पहिलोपटक आन्तरिक बचतले कूल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको जनाइएको छ। यसले राष्ट्रिय पूँजी निर्माणमा उल्लेख्य योगदान पुग्नेछ।

आन्तरिक एवम् बाह्य लगानी आकर्षित गर्न भएका नीतिगत एवं कानूनी सुधारको परिणाम दिगो एवम् उच्च आर्थिक वृद्धिको मार्ग प्रशस्त हुँदै गएको छ। उच्च लगानीका लागि औद्योगिक तथा पूँजीगत सामानको आयात बढ्दै जाँदा र निर्यातको आकार सीमित हुँदा उच्च व्यापार घाटा कायमै रहेको छ। यसबाट शोधान्तर स्थितिमा र विदेशी विनिमय सञ्चितिमा समेत चाप परेको सर्वेक्षणमा उल्लेख छ।

निरपेक्ष गरिबी १८.७ प्रतिशत

निरपेक्ष गरीबीको रेखामुनि रहेका जनसंख्या घटेर १८ दशमलव सात प्रतिशतमा झरेको सर्वेक्षणको अनुमान छ।

चालू आर्थिक वर्षमा प्रतिव्यक्ति आय एक लाख १७ हजार पुग्ने अनुमान गरिएको उक्त सर्वेक्षणमा प्रतिव्यक्ति खर्चयोग्य आय एक लाख ५५ हजार पुगेको अनुमान गरिएको छ। कूल लगानी २९.० प्रतिशतले वृद्धि भई २१ खर्ब ५७ अर्ब हुने अनुमान छ।

कूल गार्हस्थ्य बचतको वृद्धिभन्दा कूल पूँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानी बीचको अन्तर बढ्दै गएको छ। गत फागुनसम्म कूल सरकारी खर्च आर्थिक वर्ष २०७४÷०७५ को सोही अवधिको तुलनामा दुई दशमलव दुई प्रतिशतले वृद्धि भई पाँच खर्ब ४१ अर्ब पुगेको छ।

त्यस्तै फागुनसम्म संघीय विभाज्य कोष र संघीय सञ्चित कोषमा दाखिला भएको राजस्व पाँच खर्ब छ। यो रकम आर्थिक वर्ष २०७४÷०७५ को सोही अवधिको तुलनामा २१ दशमलव सात प्रतिशतले बढी हो।

चालू आर्थिक वर्षको फागुनसम्म अनुदान १३ अर्ब र ऋण ९३ अर्ब गरी थप एक खर्ब सात अर्ब वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको छ। गत फागुनसम्ममा कूल सार्वजनिक ऋण रु नौ खर्ब ७८ अर्ब छ। यसमध्ये तीन खर्ब ८३ अर्ब ५९ करोड आन्तरिक ऋण र पाँच खर्ब ९५ अर्ब बाह्य ऋण रहेको सर्वेक्षणमा उल्लेख छ।

फागुनसम्ममा कुल वस्तु निर्यात १४ दशमलव ६ प्रतिशतले वृद्धि भई ६१ अर्ब पुगेको छ भने वस्तु आयात २३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४९ अर्ब पुगेको छ। यस अवधिमा कुल वस्तु व्यापार घाटा आठ खर्ब ८८ अर्ब रहेको छ।

त्यस्तै, फागुनसम्म शोधनान्तर स्थिति ५९ अर्ब घाटामा रहेको छ। यस अवधिमा चालु खाता एक खर्ब ९१ अर्ब रुपैयाँले घाटामा रहेको छ। विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले वृद्धि भई पाँच खर्ब ८२ अर्ब पुगेको छ। यस अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको संख्या ३५ दशमलव ९ प्रतिशतले घटेको छ।

फागुनसम्म २१८ उद्योगमा ११ अर्ब लगानी प्रतिबद्धता भई थप सात हजार ९५३ रोजगारी सिर्जना हुने अनुमान छ। स्वदेशी एवं विदेशी लगानीकर्ताको उत्साहमूलक सहभागिताका साथ लगानी सम्मेलन सम्पन्न भएको छ।

चालु आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेको पनि अर्थमन्त्रीले संसदमा बताए ।