काठमाडौँ, १२ जेठ । महिला पत्रकार कल्पना महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी मोहोडाबाट २३ मे २०१९ (२०७६ जेठ ९ गते बिहीबार) बिहान १० बजेर २० मिनेटमा सफल आरोहण गर्नुभएको छ । उहाँले नेपालतर्फ रहेको दक्षिण मोहोडाबाट गतवर्ष सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । उत्तरतर्फको मोहोडाबाट सफल आरोहण गरेसँगै दुवै मोहोडाबाट सगरमाथा शिखर चुम्ने विश्वकै पहिलो महिला पत्रकारको कीर्तिमानी राख्न महर्जन सफल हुनुभएको छ ।
शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान–२०१९ को नारासहित पत्रकार महर्जनले चीनको ल्हासातर्फबाट २०७५ चैत २८ गते आरोहण प्रारम्भ गर्नु भएको र ४३औँ दिनमा सगरमाथाको दोस्रो पटक सफलतापूर्वक चुम्न सफल हुनुभएको एक्पेरियन्स आउटडोर्स नेपाल प्रालिका प्रबन्ध निर्देशक रवीन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ललितपुर महानगरपालिका स्थापनाको १००औँ वर्षगाँठ र वाङ्मय शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको १००औँ जन्मोत्सवको अवसर पारी आरोही महर्जनले ललितपुर महानगरपालिकाको नाम, लोगो र जोशीको तस्वीरअङ्कित झण्डा सगरमाथाको शिखरमा फहराउन सफल हुनुभएको छ । रासस