काठमाडौँ, १२ जेठ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आज सबै अदालत बन्द हुने भएका छन्। सर्वोच्च अदालतको हिजाे बसेको पूर्ण बैठकले आज शोक बिदा दिने निर्णय गरेको हो।
सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले हिजाे जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही जेठ १२ गते देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधीकरण शोक बिदाका रुपमा बन्द रहने जनाइएको छ।
अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार निधन भएका खत्रीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।
ललितपुर जिल्लामा कार्यरत मेजर दिलबहादुर खत्री र आमा अप्सरादेवी खत्रीको सन्तानका रुपमा १९८० असोज ३ गते जन्मिएका खत्री २०३३ साल साउन २४ गतेदेखि २०४२ मंसिर २५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएका थिए।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश हुँदा उनको कार्यकालमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्दै समग्र न्यायपालिकाको श्रीवृद्धिको उल्लेखनीय योगदान पुर्याएका थिए।
विसं २००४ मा मुलुकी अड्डा ऐसवाल फाँटबाट सरकारी सेवामा प्रवेश गरेका पूर्वप्रधानन्यायाधीश खत्रीले २००९ सालमा कानून मन्त्रालयको सचिव हुँदै प्रधानन्यायाधीश भई न्यायको क्षेत्रमा योगदान दिएका थिए।