काठमाडाैं, १२ जेठ । एक वर्षभन्दा लामो समयदेखि विभिन्न देशमा राजदूत खाली हुँदा पनि सरकारले नियुक्त गर्न सकेको छैन। अमेरिकाबाहेक रिक्त ६ देशमा राजदूत नियुक्त भएका छैनन्। अमेरिकाका लागि राजदूत भएका डा. अर्जुन कार्कीको अर्को व्यवस्था नभएसम्म कार्यविधि थपेकाले तत्काल फिर्ता हुने सम्भावना देखिँदैन। अन्य देशको हकमा भने राजदूतमा कसलाई सिफारिस गर्ने भन्ने विषयमा छलफल नभएको परराष्ट्र मन्त्रालय स्राेतले बतायो। याे खबर आजकाे राजधानी दैनिकमा प्रकाशित छ ।
सरकारले गत वर्ष पद रिक्त हुनु तीन महिनाअघि नयाँ राजदूत सिफारिस गरिसक्ने कार्यविधि पारित भइसकेको छ। तर, कार्यकाल सकिनु तीन महिनाअघि राजदूत नियुक्ति हुने प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन। एक वर्षदेखि ६ देशमा राजदूत खाली हुदाँ पनि सरकारले प्रकिया अघि बढाउन सकेको छैन।
सरकारले विवादमा परेकी अस्ट्रेलियाका लागि राजदूत लक्की शेर्पालाई राजीनामा गर्न लगायो तर त्यहाँ कसलाई पठाउने भन्नेबारे त्यो तय गर्न सकेको छैन। चार महिनादेखि अस्ट्रेलिया राजदूतविहीन छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि अघिल्लो सरकारले राजदूत सिफासिर गरेको स्पेन, बंगलादेश, दक्षिण कोरिया र कतारका राजदूतलाई कार्यक्षमतामा प्रश्न उठाउँदै फिर्ता बोलाइएको छ। कतार, जापान र ओमनका लागि कांग्रेसबाट राजदूत भएको ठाउँमा भने सरकारले तत्काल निर्णय गरेको छैन।
कांग्रेस कोटाबाट राजदूत भएकामध्ये जापानका प्रतिभा राणा र श्रीलंकाका डा. विश्वम्भर प्याकुरेल तथा विजय गच्छदारको कोटाबाट गएकी ओमनकी राजदूत शर्मिला पराजुली ढकालबारे फिर्ता बोलाउने या यथावत राख्ने भन्ने विषयमा निर्णय भएको छैन। थाइल्यान्डले प्रस्तावित नेपाली राजदूत गणेश ढकालको एग्रिमो नपठाएका कारण सरकारले राजदूत खगनाथ अधिकारीलाई अर्को व्यवस्था नहुन्जेल कार्यावधि बढाएको छ। याे खबर आजकाे राजधानी दैनिकबाट लिएका हाैं ।