बेलायतकी प्रधानमन्त्री टरिजा मेद्वारा प्रधानमन्त्री पदबाट राजिनामा

बेलायतकी प्रधानमन्त्री टरिजा मेद्वारा प्रधानमन्त्री पदबाट राजिनामा

लण्डन, ११ जेठ।बेलायतकी प्रधानमन्त्री टरिजा मेले शुक्रबार भावुक मुद्रामा एक सम्बोधन गर्दै नेतृत्वबाट हट्न लागेको घोषणा गर्नुभएको छ ।

उहाँले यूरोपेली संघ (इयू) बाट बेलायतलाई बहिर्गमन गराउने कुरामा आफ्नै दलका सांसदहरूलाई पनि विश्वासमा लिन असफल भएपछि दलको नेतृत्वसँगै प्रधानमन्त्रीको पदबाट राजिनामा दिन लागेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।“मैले कन्जर्भेटिभ नेताका रूपमा आगामी जुन ७ गतेदेखि लागु हुनेगरी पदबाट राजिनामा दिने र नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गर्ने निर्ण लिएकी छु,” प्रधानमन्त्रीको डाउनिङ स्ट्रीटस्थित सरकारी निवास बाहिर एक भाबुक सम्वोधनमा भन्नुभयो ।

“मलाई ब्रेक्जिट सम्झौतामा सफलता पाउन नसकेकोमा धेरै दुःख लागेको छ र यो बिषयले सधैँ पश्चाताप गराइरहनेछ,” प्रधानमन्त्री मेले भावुक हुँदै भन्नुभयो । प्रधानमन्त्रीको सम्बोधनका क्रममा उहाँ भावुक बन्दा उहाँको गला नै अवरूद्ध भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।प्रधानमन्त्रीले पार्टी नेतृत्वबाट राजिनामा दिनुलाई बेलायती सत्ताधारी दलमा नेतृत्वका लागि प्रतिस्पर्धाको शुरूवातका रूपमा हेरिएको छ । अर्को नेतृत्व नआउँदासम्म प्रधानमन्त्री मे ले कामचलाउ प्रधानमन्त्रीका रूपमा सरकारको कार्यभार सम्हाल्नुहुनेछ ।

मेले भन्नुभयो, “मैले आगामी जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजिनामा दिनेछु ।” त्यसपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू हुनेछ । नेतृत्वको लागि हुने प्रतिस्पर्धा आगामी केही हप्ता लाग्ने अनुमान गरिएको छ ।रासस/एएफपी