भारतमा बिजेपीलाई ऐतिहासिक जनादेश, मोदी थप पाँच वर्ष प्रधानमन्त्री

भारतमा बिजेपीलाई ऐतिहासिक जनादेश, मोदी थप पाँच वर्ष प्रधानमन्त्री

एजेन्सी, १० जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ‘ऐतिहासिक जनादेश’ दिएको भन्दै भारतीय जनतालाई धन्यवाद दिएका छन् ।

हिजो साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उहाँलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए । मतगणना हुँदै गर्दा लोकसभाको ५४३ सीटमध्ये भाजपाले ३५१ सीट जितेको छ ।

सो दलले सन् २०१४ को निर्वाचनमा भन्दा धेरै मत प्राप्त गर्ने देखिएको बीबीसीले लेखेको छ । भारतमा छ हप्तासम्म विभिन्न चरणमा भएको मतदानलाई मोदीको हिन्दू राष्ट्रवादी राजनीतिको जनमतसङ्ग्रहका रूपमा हेरिएको थियो । भारतको प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् । दिल्लीमा आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले सन् २००४ देखि जित्दै आएको उत्तर प्रदेशको एउटा निर्वाचन क्षेत्र अमेठीमा पनि आफ्नो हार स्वीकार गरेका हुन् ।