काठमाडाैं, ८ जेठ । आज मे २२ अर्थात् अन्तर्राष्ट्रिय जैविक विविधता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँंदैछ । जैविक विविधताका मुद्धाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्धेश्यले संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
जैविकविविधताको महत्वलाई दर्शाउन यो दिवस विश्वभर मनाइन्छ । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधतामहासन्धी अगाडि बढाउने निर्णय गर्यो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविकविविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २०००डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकको निर्णय नम्बर ५५/२०१ ले थप अंगिकार गर्यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसकारुपमा मनाउने घोषणा भयो । त्यसयता हरेक बर्ष मे २२ का दिन विश्वभर जैविक विविधतादिवस मनाइदै आएको हो ।
परापूर्वकालदेखि नै नेपाली सनातन परम्पराले विभिन्न वनस्पति तथा प्राणीलाई विभिन्न भगवानका रूपमा आस्था राखी पूजा गर्दै आएको छ। विशेष गरीकन हिन्दु धर्मावलम्बीले वर, बेल, रुद्राक्ष र अशोकलाई भगवान् शिव, पीपल र बाबियोलाई भगवान् विष्णु, शमी र दुबोलाई गणेश, तुलसी र अमलालाई लक्ष्मी, कुश र पलाँसलाई ब्रह्मा अनि खयरलाई अग्निका रूपमा स्विकारेको देखिन्छ।
त्यसै गरी किरात–मुन्धुमलाई त पूर्ण रूपमै भूमि तथा जैविक विविधता पुजारीकै रूपमा लिएको पाइन्छ। जैविक परम्परा त भगवान् बुद्धले बुद्धत्व प्राप्ति गरेको वृक्षकै वरिपरि घुमेको छ। कुरान तथा बाइबल समेत वन, वनस्पति तथा जैविक विविधताप्रति सामीप्य राख्छन्।
जैविक विविधताको हिसाबले नेपाल विश्वको २५ औँ र एसियाली क्षेत्रमा ११ औँ स्थानमा रहेको छ । नेपालको जैविक विविधताअन्तर्गत ११८ वन पर्यावरणीय प्रणाली, २०७ प्रजातीका स्तनधारी प्राणी, ८८७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १०० प्रजातिका सरिसृप, १८५ प्रजातिका माछा, ६५३ थरीका पुतली, तीन हजार ९६६ प्रजातिभन्दा मथ कीरा, पाँच हजारभन्दा बढी किटपतङ्ग छन् । त्यस्तै दुई सय प्रजातिका माकुरा, छ हजार बढी फूल फुल्ने वनस्पति, ४७१ प्रजातिको झ्याउ, एक हजार ८२२ प्रजातिको ढुसी, ३३८ प्रजातिको उन्यू, पाँच सय बढी प्रजातिको खानयोग्य अन्न बाली छन्, जसमा दुई सय प्रजातिको खेती नेपालमा हुने गर्छ ।
मान्छे स्वभावले नै विविधता मनपराँउदछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ नयाँ साथी, ठाँउ, घर अनि खाना मनपर्दछ , नयाँ कुराहरु गर्न रुचाँउदछ अनि नयाँपन विभिदताले गर्दा मात्र संभव छ । भुपरिवेष्ठित देशका मान्छे समुन्द्र देख्दा रमाँउदछन अनि हिमाल पहाड नदेखेका मानिस हिमाल पहाड देखेर रमाँउदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मान्छे भित्र एउटा पर्यटकको तृष्णा लुकेको हुन्छ । अरबको मरुभुमीमा बसोवास गर्ने मान्छे हिमाल हेर्न नेपाल आँउदछ, विश्वभरिका मान्छे सगरमाथा, यहाँका जैविक विभिदता, प्रकृती, वनस्पती, जनावर, चराहरु आदी हेर्न नेपाल आँउछन र यदि नेपालसँग यी जैविक र भौगोलिक विभिदता नहुने भए यहाँ पर्यटकहरु आँउदैन थिए पनि होला । तसर्थ पनि जैविक विविधतालाई पर्यटनसँग जोडेर हेरिन्छ