काठमाडौं, ३ जेठ । सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी ल्याएको नेपाल मिडिया काउन्सिल विधेयकका विरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलनमा छ ।
आज काठमाडौंमा संघीय संसद्अगाडि सञ्चारकर्मीहरुले आफ्ना सञ्चार उपकारणसहति धर्ना दिएका थिए भने देशभर महासंघको जिल्ला शाखाको आयोजनामा धर्ना कार्यक्रम सम्पन्न भएको छ ।
आन्दोलनका थप कार्यक्रम घोषणा गर्न आइतबार महासंघको उपलब्ध केन्द्रीय समिति र सञ्चारसम्वद्ध संघसंस्थाका प्रतिनिधिहरुको बैठक डाकिएको महासंघका सचिव प्रकाश थापाले जानाकारी दिए । आइतबार उक्त बैठकपछि आन्दोलनका थप कार्यक्रम घोषणा गरिने सचिव थापाले बताएका छन् ।
आजै महासंघले प्रेस विज्ञप्ति निकालेर पहिलो चरणको विरोध कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने आम सञ्चारकर्मी, सञ्चारसम्वद्ध संघसंस्था, सञ्चारमाध्यमहरु र नागरिक समाजप्रति हार्दिक आभार र धन्यवाद दिएको छ ।
महासंघको अगुवाइमा आज नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुले सञ्चार उपकरणहरु प्रदर्शन गर्दै धर्ना दिए । उक्त धर्ना कार्यक्रममा नागरिक अगुवा सुन्दरमणि दीक्षित, कपिल श्रेष्ठ, चरण प्रसाई लगायत विभिन्न अधिकारीकर्मीहरु उल्लेखनीय उपस्थिति रहेको थियो ।
त्यसैगरी नेपाल पत्रकार महासंघको केन्द्रीय नेतृत्व लगायत सम्पूर्ण पत्रकारहरुको उपस्थिति रहेको थियो । बानेश्वरमा आयोजित प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित पदाधिकारीहरु, पत्रकार, मानवअधिकारकर्मीहरु उल्लेख्य रुपमा सहभागी भएका थिए । सरकारले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेको सांकेतिक विरोधमा केहीले कालोपट्टीले मुख समेत बाँधेर धर्ना दिएका थिए ।
प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी विधयेक संसदमा दर्ता गरिएको भन्दै महासंघले तत्कालै उक्त विधयेक फिर्ता लिनुपर्ने बताएको छ । आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएकोले महासंघले आइतबार बिहान आठ बजे सरोकारवाला पक्षसँग छलफल गरेर थप सशक्त आन्दोलनको घोषणा गरिने महासंघका सचिव थापाले बताए ।
यसैबीच प्रदेश नं. २ को सरकारले प्रदेशसभामा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी विधेयक ल्याएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचार लेखेकै आधारमा ५० लाखदेखि १ करोडसम्म जरिवान गर्नेगरी विधेयक ल्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको महासंघको ठहर छ । नेपालको संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख भएको सन्दर्भमा समाचार लेखेको कारण चर्को आर्थिक दण्डको व्यवस्थासहितको विधेयक ल्याउनु पत्रकारको निर्वाध ढंगबाट सञ्चारकर्म गर्न पाउने संवैधिानिक व्यवस्थामाथिको प्रहार भएको महासचिव रमेश विष्टले बताएका छन् ।
संघीय संसदेमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान राखिएपछि महासंघ आन्दोलनमा भएको बेला प्रदेश २ सरकारले पनि प्रेस स्वतन्त्रताविरोधी प्रावधानसहितको विधेयक दर्ता गराएकोमा महासंघले कडा आपत्ति जनाएको छ । महासंघ पत्रकारको संवैधानिक अधिकार र प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीतको उक्त विधेयक तत्काल फिर्ता लिन र प्रेस स्वतन्त्रताको निर्वाध उपभोग गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसमक्ष जोडदार महासंघले माग गरेको छ ।