आज २६ औं मदन–आश्रित स्मृति दिवस मनाउँदै

आज २६ औं मदन–आश्रित स्मृति दिवस मनाउँदै

काठमाडौं, ३ जेठ । आज २६ औं मदन–आश्रित स्मृति दिवस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न कार्यक्रम गरी आज मदन–आश्रित स्मृति दिवस मनाउँदै छ ।

तत्कालीन नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा नेकपाले राजधानी र चितवनको दासढुंगालगायत मुलुकका विभिन्न ठाउँमा कार्यक्रम गर्दै छ ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा पारेर गतवर्ष तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच ऐतिहासिक एकता भएको थियो । मदन–आश्रित दिवस तथा पार्टी एकताको एक वर्ष पुगेको अवसरमा काठमाडौंमा गरिने कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको तत्कालीन एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको जीप चितवनको दासढुंगामा दुर्घटना भएको थियो ।  आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि शव भेटिएको थियो। यो घटनाको छानबिन गर्न धेरै आयोग बनेपनि तीनले पनि वास्तविकता बाहिर ल्याउन सकेनन्।

भण्डारी २०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका हुन्। २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्‍यो। त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रीत थिए भने भण्डारी केन्द्रीय सदस्य थिए। २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भए।

अन्याय सहन नसक्ने उहाँको आफ्नैखालको बिद्रोही स्वभाव, विषयवस्तुको उच्चतम् ज्ञानको आधार, साहित्य र सिर्जनामार्फत नविन चिन्तनको विकासले उनलाई बनारसमा सङ्गठित रूपमा क्रियाशील राजनीतिककर्मीहरूसँग नजीकिने वातावरण बनायो।

२०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरियो। त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले)को स्थापना हुनुभन्दा पूर्वको ‘को-अर्डीनेशन केन्द्र’मा आवद्ध भई ‘मुक्तिमोर्चा समूह’लाई नै त्यसमा विलय गराइयो। २०३५सालमा नेकपा (माले) स्थापना भयो र उनी केन्द्रिय सदस्य बने ।

२०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशनमा महासचिव बने। २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले-माक्र्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी)को महासचिव बने।

२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए।

भण्डारी नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का नेता थिए। जनआन्दोलन २०४६मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०४८मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो। लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरे ।