गृहमन्त्री थापा र अमेरिकी उपसहायकमन्त्री जे रेञ्जबीच भेटवार्ता

गृहमन्त्री थापा र अमेरिकी उपसहायकमन्त्री जे रेञ्जबीच भेटवार्ता

काठमाडौँ, १ जेठ ।गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेञ्जबीच आज भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको सो भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायत क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गर्नुभयो ।उहाँले केही महीनाअघि नेपालका परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण र सो क्रममा भएका सहमतिले नेपाल र अमेरिका सम्बन्धलाई थप उचाइमा पु¥याउन भूमिका खेलेको चर्चा गर्नुभयो । गृहमन्त्री थापाले नेपालको राजनीतिक स्थिरतासँगै अब तीव्र आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिँदै यसमा अमेरिकी सरकार र जनताको सहयोगका लागि उपसहायक मन्त्री रेञ्जसँग आग्रह गर्नुभयो ।

अमेरिकाले ‘मिलेनियम च्यालेञ्ज कोपरेशन’मार्फत नेपाललाई प्रदान गरेको आर्थिक सहयोगले नेपालको आर्थिक विकास तथा विद्युतीकरणका लागि महत्वपूर्ण हुने गृहमन्त्रीको भनाइ छ । भेटमा उपसहायकमन्त्री रेञ्जले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप उचाइमा लैजान आवश्यक रहेको बताउनुभयो ।उहाँले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, मानव बेचबिखनलगायत क्षेत्रमा अमेरिकाले सहयोग गरिरहेको बताउँदै त्यो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपसहायकमन्त्री रञ्जले अमेरिकी स्वयम्सेवी समूह ‘पिसकोर’को प्रवेशाज्ञाको समयावधि थप तथा नेपालको अध्यागमन प्रणालीको स्तरोन्नतिका लागि सहयोगलगायत विषयमा समेत गृहमन्त्री थापासँग कुरा राख्नुभएको थियो । भेटवार्तामा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्याण्डी बेरीसमेत सहभागी हुनुहन्थ्यो ।
रासस