कञ्चनपुर, ३० वैशाख ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की भागरथी लुहारले सिलाइ कटाइको तालीम लिएपछि यसैलाई व्यावसायिक पेशा अँगाल्ने योजना बनाउनुभएको छ । परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन उहाँले तालीमपश्चात् निःशुल्करूपमा पाउनुभएको सिलाइ मेसिन पाएपछि यसैलाई पेशा बनाउने योजना बनाउनुभएको हो ।
भारतमा होटेलमा काम गर्ने श्रीमान्को कमाइले उहाँको पारिवारिक खर्च मुस्किलले चल्ने गरेको छ । “श्रीमान् एक्लैको कमाइले परिवार चलाउन मुस्किल छ”, उहाँले भन्नुभयो, “आर्थिक अवस्थामा सुधार ल्याउन पसल राखेर कपडा सिलाइको कार्य अगाडि बढाउँछु ।” घरका दुई जनाले कमाउन थालेपछि विपन्नता हटाएर आर्थिकरुपमा सबल बन्न सकिने उहाँको भनाइ छ । दुई महीने एक तहको कक्षा उत्तीर्ण गरेका भागरथीले लेडिज सुट, पेटिकोट, ब्लाउज, म्याक्सीलगायतका कपडा सिलाउन सिक्नुभएको छ ।
आर्थिकरूपमा विपन्न मुक्त हलियाका महिलालाई आत्मनिर्भर बनाउन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सहयोगमा सञ्चालित दुईमहिने एक तहको कक्षाबाट ५० महिलाले सिलाइ कटाइसम्बन्धी तालीम लिएका छन् । तालीम लिएका महिला सिलाइ कटाइमा दक्षता हासिल गरेपछि आम्दानी बढ्नेमा ढुक्क छन् । तालीममा सहभागी नगरपालिका–८ जुडाकी कल्पना महरले भाइबहिनीको विद्यालय खर्च धान्नकै लागि अर्काको पसलमा कपडा सिलाइ कार्य गर्दै आएको बताउनुभयो ।
घरको आर्थिक अवस्था दयनीय हँुदा बुबाले भारतमा छ महीना मजदूरी गरी ल्याएको रकमले परिवारको खर्च नचल्ने भएकाले अर्काको पसलमा काम गर्नुपरेको उहाँले बताउनुभयो । “सीप नहँुदा सिलाइको कामबाट थोरै मात्र पारिश्रमिक पाउँदै आएको थिएँ”, उहाँले भन्नुभयो, “सीप सिकेर दक्ष बनेपछि पारिश्रमिक पनि सोहीअनुसारको पाइने भएको छ ।” “तयारी पोशाक उद्योगमा पैसा तिरेर सिलाइको काम सिक्ने योजना बनाउँदै थिए”, वडा नं ५ का सानु लुहारले भन्नुभयो, “सितैमा सीप सिक्ने मौका पाएपछि घर नजिकै पसल राखेर सर्ट, पाइन्टसहित लेडिज सुट सिलाउने पसल राखेर आम्दानी गर्ने योजनामा छु ।”
सिलाइ मेसिन निःशुल्क पाएपछि पसल सञ्चालनका लागि पैसाको जोहो मिलाउनमा लागेको उहाँले बताउनुभयो । नगरपालिकाको वडा नं २ का चाँदनी आग्रीले कुनै पनि सीप नहुँदा चुलोचौको र मेलापातमै दिन खर्चिदै आउनुभएको थियो । सिलाइकटाइको तालीम पाएपछि उहाँको सोचमै परिवर्तन आएको छ । उहाँ भन्नुहुन्छ, “सिलाइकटाइको पसल राखेर गाडी चालक श्रीमान्को भन्दा बढी कमाइ गर्न आतुर छु ।” सीप नहुँदा श्रीमान्को कमाइमा निर्भर हुनुपरेको थियो । अब आफैँ स्वरोजगार भएर परिवारको खर्च चलाउन सक्ने भएकाले पसल सञ्चालनको तयारी गरेको उहाँले बताउनुभयो ।
राष्ट्रिय मुक्त हलिया महासङ्घका अध्यक्ष ईश्वर सुनारले मुक्त हलिया परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन विपन्नताका आधारमा महिलाको छनोट गरी सिलाइकटाइ तालीम दिइएको बताउनुभयो । सिलाइकटाइ पेशा मुक्त हलिया र दलित परिवारको पुख्र्यौली पेशा भएकाले यसलाई आधुनिक तरिकाले सञ्चालन गर्न महिलाहरुलाई दक्ष पारिएको उहाँले बताउनुभयो ।
तालीम लिएकामध्ये धेरैले पहिलेदेखि नै सिलाइकटाइको कार्य गर्दै आएका थिए । उहाँले भन्नुभयो, “ग्राहकको मागअनुसार आधुनिक तरिकाले परिधान तयार गर्न सक्ने गरी सीपमा परिमार्जन गरी तालीम दिएका छौँ । यसबाट आम्दानी बढ्ने भएकाले परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास छ ।” थप सिलाइकटाइसम्बन्धी सीप सिक्न चाहने मुक्त हलियाका २०० बढी महिलाका लागि तह दुईको तालीम सञ्चालन गर्ने योजना बनाइएको उहाँले बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख तुलरी देवी हमालले सित्तैमा पाएको मेसिन घरको कुनामा लगेर नथन्क्याउन आग्रह गर्दै घरपरिवारकै कपडा सिलाउनबाट शुरु गरेर व्यावसायिकरूपमा अगाडि बढ्न आग्रह गर्नुभयो । “तपाईंसँग व्यवसाय सञ्चालन गर्न पैसा छैन । थप सीप चाहिन्छ भने नगरपालिका सहकार्य गर्न तयार छ”, उहाँले भन्नुभयो ।रासस