कपिलवस्तु,२९ वैशाख । । कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्षको आजसम्म थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमियाका नौ बिरामी फेला परेका छन् । वाणगङ्गा नगरपालिकामा सात र बुद्धभूमि नगरपालिकामा दुई बिरामी छन् ।
लुम्बिनी प्रादेशिक अस्तालका सामाजिक सेवा एकाइ प्रमुख दयासागर पन्थीका अनुसार कपिलवस्तु जिल्लाबाट नौ जनाले औषधि सेवन गर्दै आएका छन् । पन्थीले सिकलसेलका बिरामीको अवस्था पहिलेभन्दा अहिले सुधार भएको जानकारी दिए ।उनले सिकलसेल एनिमियाको औषधिको अभाव भएकाले अहिले धेरै बिरामी रित्तो हात फर्किनु परेको बताए । उनले भएन, “औषधि लिन आउने बिरामी पटक पटक आउँदै फर्कँदै गरिरहनुभएको छ ।”
वाणगङ्गा नगरपालिकामा कूल जनसङ्ख्याको करीब ४५ प्रतिशत थारु समुदायको बसोबास छ । लुम्बिनी प्रादेशिक अस्तालमा औषधि सेवन गरिरहेका बिरामीको तथ्याङ्कानुसार सो नगरमा सिकलसेलका बिरामीको सङ्ख्या अरु नगरपालिकामा भन्दा धेरै छ । रक्तअल्पता हुनु र हँसिया आकारको रक्तकण बन्नु नै सिकलसेल हो ।रोग लागेपछि विस्तारै शरीरका विभिन्न अङ्गले काम गर्न छाड्नाका साथै करीब १० देखि १५ वर्षपछि मात्र आफूलाई सिकलसेल रोग लागेको थाहा पाउन सकिने चिकित्सकको भनाइ छ । सिकलसेल एनिमिया भएका पति र पत्नीबाट जन्मिएका सन्तानलाई पनि सो रोग लाग्न सक्ने चिकित्सकले बताएका छन् ।
वंशाणुगत रुपमा सर्ने सोे रोगबाट बच्ने उपाय विवाह गर्नुपूर्व सिकलसेल छ कि छैन भनेर जाँच गर्नुपर्ने वाणगङ्गा स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिए । सिकलसेल भएका बिरामीमा हातखुट्टाको जोर्नी र टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिने घिमिरेको भनाइ छ ।वाणगङ्गा नगरपलिकाले गत आवमा सिकलसेल एनिमिया रोगका लागि भनेर रु तीन लाख बजेट छुट्टयाए पनि फ्रिज भएको थियो । सो बजेट उपयोगमा नआएपछि चालु आवमा बजेट नै नछुट्टयाइएको घिमिरेले बताए ।