

भियतनाम, २९ वैशाख । नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्याउन सहमत भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो।
सो अवसरमा कूटनीतिक तथा सरकारी राहदानी वाहकलाई प्रवेशाज्ञा छुटसम्बन्धी सहमति र दुई सरकारबीच द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा हस्ताक्षर भएको थियो।
यस्तै भियतनामले नेपाली सामान आयात गर्ने र भियतनामका व्यवसायीले नेपालमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने सहमति भएको छ।
यस्तै पर्यटकलाई दुवै देशको भ्रमणका लागि प्रेरित गर्ने, दुवै देशका पार्टी, सरकार, संसदीय संस्था र नागरिकलाई एकअर्का देशमा मैत्रीपूर्ण भ्रमण गराउने सहमति पनि भएको छ।
सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट त्यहाँका विदेश मामिला मन्त्रालयका प्रतिनिधि न्गुएन कोक दुङले हस्ताक्षर गरे।
त्यसैगरी व्यापार तथा लगानी ढाँचासम्बन्धी सम्झौताको आशयपत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र भियतनामका तर्फबाट त्यहाँको उद्योग मन्त्रालयका उपमन्त्री दाङ आओङ एनले हस्ताक्षर गरे। रासस