काठमाडौं, २७ वैशाख । प्रेस काउन्सिल नेपालले पटक–पटक सचेत गराउँदा पनि पत्रकार आचारसंहिता पालनामा अटेरी गर्ने अनलाइन सञ्चारमाध्यमहरूको सूचीकरण रद्द गर्ने भएको छ ।
प्रेस काउन्सिल नेपालअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको बैठकले यस्तो निर्णय गरेको काउन्सिलले आज विज्ञप्ति निकालेर जानकारी दिएको छ । सूचीकरण भएका तर दर्ता नभएका अनलाइनलाई १५ दिनभित्र सूचना तथा प्रशारण विभागमा दर्ता गरी काउन्सिललाई जानकारी दिन लगाउने अन्यथा सूचीकरणबाट हटाउन सकिने निर्णय पनि भएको छ ।
सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, हिंसा आतङ्क र अपराधलाई प्रश्रय हुने, उत्तेजना्, त्रास फैलाउने सामग्री सम्प्रेषण गर्ने अनलाइन सञ्चारमाध्यम काउन्सिलमा सूचीकरण भएकाको हकमा सूचीकरणबाट किन नहटाउने ? भन्दै ३ दिनभित्र स्पष्टीकरण माग्ने निर्णय भएको छ ।
सूचीकरण नभएकाको हकमा यस्ता प्रकृतिका सामग्री सम्प्रेषण भएबाट अन्य कानुन आकर्षित हुने हुँदा क्षमायाचनासहित सच्चिन र आइन्दा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न, दर्ता एवं सूचिकृत हुन सचेत गराउने र पटकपटक त्यस्तो प्रवृत्ति दोहोरिएको पाइएमा सरोकारवाला निकायमा पत्राचार गर्ने निर्णय अनुगमन उपसमितिको बैठकले गरेको छ ।
केही अनलाइनबाट अप्रिलफूलको नाममा समाजमा अफवाह, आतंक फैलाउने खालका सामग्री सम्प्रेषण हुने गरेको देखिएकोले त्यस्ता सञ्चारमाध्यमलाई ‘अबउप्रान्त यस्ता सामग्री सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्ने र पुनः यस किसिमका सामग्री सम्प्रेषण भएको पाइएमा प्रचलित नियम÷कानुन एवं आचारसंहिताबमोजिम कारबाही अगाडि बढाउने निर्णय पनि भएको छ ।