काठमाडौं, २७ वैशाख । निजी शैक्षिक संस्थाले गैरकानुनीरुपमा ४० प्रतिशतसम्म बढाएको शुल्क तत्काल फिर्ता गर्न ११ विद्यार्थी सङ्गठनले माग गरेका छन् ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गरी उनीहरूले यस्तो माग गरेका हुन् । सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न कूल बजेटको २५ प्रतिशत शिक्षामा लगाउन पनि उनीहरूले माग गरेका छन् । राज्यकोषबाट तलब प्राप्त गर्ने सबै सेवाका राष्ट्रसेवकले आफ्ना सन्ततिलाई अनिवार्य सरकारी शैक्षिक संस्थामा पढाउनुपर्ने र निजी शैक्षिक संस्था सञ्चालन गर्न नपाउने व्यवस्था गर्न पनि ११ विद्यार्थी सङ्गठनले माग गरेका छन् ।
यसैबीच ११ विद्यार्थी सङ्गठनको संयुक्त पत्रकार सम्मेलन सकिए लगत्तै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार सम्मेलन स्थल अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय बागबजारबाट ढकाल पक्राउ पर्नुभएको हो ।