काठमाडौँ , २५ वैशाख ।। सरकारले ‘सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विकास, निर्माणको कामलाई तीव्रता दिन सार्वजनिक खरिद ऐन संशोधनको काम अघि बढाइएको जानकारी दिए ।
संघीय संसदको अर्थ समितिको बैठकमा बुधबार उनले चालू वर्षे अधिवेशन भित्रै सार्वजनिक खरिद ऐन संशोधन विधेयक पारित गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । सरकारले सार्वजनिक खरिदका लागि आवश्यक नियमावली भने मन्त्रीपरिषदबाट पारित गरिसकेको छ । अर्थमन्त्री खतिवडाले सो नियमावलीमा ठेक्का लिने तर काम नगर्ने ठेकेदार कम्पनीमाथि कडा कार्वाही गर्ने व्यवस्था पनि गरिएको बताए ।बैठकमा समितिका सदस्यहरुले तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न माग गरेका थिए । समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एउटै आयोजना वर्षौसम्म पूरा नहुने अवस्थाको अन्त्य गर्न पनि सार्वजनिक खरिद ऐन संशोधन गर्नुको विकल्प नरहेको बताए ।
समितिका अर्का सदस्य डा.बाबुराम भट्टराईले आर्थिक वृद्धिलाई जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिए । सरकारले ल्याएको नीति तथा कार्यक्रमले आर्थिक भन्दा पनि राजनीतिक पक्षलाई जोड दिएकोमा उनले असन्तुष्टि जनाए ।पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्री समेत रहेका भट्टराईले दीगो विकास लक्ष्य हासिल हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गरे ।बैठकमा अर्थ समितिले विभिन्न उपसमितिले तयार गरेको बजेटसम्बन्धि सुझाव पनि अर्थमन्त्री खतिवडालाई बुझाएको थियो ।