बिशंखु गोदावरी सडकको काम अन्तिम चरणमा, उदय शम्शेरले गरे सडकको निरीक्षण

बिशंखु गोदावरी सडकको काम अन्तिम चरणमा, उदय शम्शेरले गरे सडकको निरीक्षण

ललितपुर, १७ वैशाख। ठैब-गोदामचौर-विशंखुनारायण-गोदावरी सडकखण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा स्वीस प्रोजेक्ट अन्तर्गत उक्त सडक निर्माण सुरु भएको हो ।

पूर्वअर्थराज्यमन्त्री एवं ललितपुर क्षेत्रं. १ बाट निर्वाचित सांसद उदय शम्शेर राणाको पहलमा उक्त परियोजना सञ्चालनमा आएको थियो ।२०७२ सालको भूकम्प पछाडि भूकम्पप्रभावित क्षेत्र १४ जिल्ला भित्र जुनसुकै स्थानमा गर्नुपर्ने भएपनि पूर्वराज्यमन्त्री राणाको पहलमा उक्त योजना यसक्षेत्रमा पर्न सफल भएको थियो।पूर्वअर्थराज्यमन्त्री राणाले आज उक्त सडकको स्थलगत अवलोकन गरेका छन् ।

उनले सडक निर्माणको कार्य सन्तोषजनक भएको भन्दै बाँकी कामलाई तीब्रता दिन निर्देशन दिएको स्थानीय तहको निर्वाचनमा गोदावरी नगरपालिका वडा नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका मनोहर सिलवालले जानकारी दिए । ‘पूर्वराज्यमन्त्रीज्यूको पहलमा यो सडकका लागि रकम आएको हो, उहाँले पटक पटक यो सडकको अवलोकन गर्दैआउनुभएको छ,’ उनले भने, ‘त्यसैको निरन्तरता आज पनि भएको हो । यसलाई चाँडो सम्पन्न गर्न पनि उहाँले निर्देशन दिनुभयो ।’

एक अर्ब चार करोड रुपैयाँमा यो सडक निर्माण भइरहेको सिलवालले बताए । ठैब– गोदामचौर सडकखण्डको काम सम्पन्न भइसकेको छ भने गोदामचौर,किटाचौर,बिष्टछाप, पातले छाप, मान्डाँडा,विशंखु हुदै गोदावरी बसपार्क सम्मको सडक भागमा पनि काम अन्तिम चरणमा पुगेको छ । उक्त स्थानमा अहिले कालोपत्रे भइरहेको छ। सिलवालका अनुसार उक्तखण्डमा आधा किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी छ । त्यस्तै उक्त सडक अन्तर्गत गोदावरीदेखि पौडोल,बडिखेलको कोड्कु हुदै लेलेसम्मको ट्रयाक खोल्ने काम पनि भइरहेको छ ।

निर्माणाधीन सडकको अनुगमनका लागि राणासँगै गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी, वडा न. १ का अध्यक्ष हरिहर कार्की, वडा २ का अध्यक्ष देबेन्द्र बस्नेत लागायत स्थानीय सहभागि थिए । ‘विकासमा सबै सरकारी, गैसरकारी, दातृनिकायका साथै स्थानीय नागरिकको हातेमालो आवश्यक छ, पूर्वअर्थराज्यमन्त्री राणाले भने, ‘सबैको सकारात्मक पहलले मात्र विकास सम्भव हुन्छ । म यो सडक निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’