राष्ट्रपति भण्डारी र चीनका राष्ट्रपति सीको भेटबार्ता सम्पन्न

राष्ट्रपति भण्डारी र चीनका राष्ट्रपति सीको भेटबार्ता सम्पन्न

काठमाडौ, १६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया राष्ट्रपति सी जिङपिङबीचको शिष्टाचार भेटबार्ता सकिएको छ । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा दुई राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता भएको हो ।भेटवार्तापछि राष्ट्रपति भण्डारी रात्रिभोजमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार नेपाल र चीनका विभिन्न पक्षबीच ३ सम्झौतामा हस्ताक्षर भएको थियो ।

केहीबेर अघिसम्पन्न दुई राष्ट्रपतिबीचको भेटवार्तापछि दुवै मुलुकका प्रतिनिधिमण्डल सहभागी छलफल भएको थियो । छलफलपछि दुवै राष्ट्रपतिको उपस्थितिमा व्यापार तथा पारवहन प्रोटोकलसहित चारवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका यातायात मन्त्रीले हस्ताक्षर गर्नुभएको छ ।

शिष्टाचार वार्ता हुनुअघि राष्ट्रपति भण्डारीलाई चिनिया जनमुक्ति सेनाले गार्ड अफ अनर सम्मान प्रदान गरेको थियो । यसअघि, आज बिहान राष्टपति भण्डारीले बेइजिङस्थित तियानमेन स्क्वायरमा राखिएको जनवादी गणतन्त्र चीनका सहिदहरुको स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । गएको बुधबार चीन भ्रमणमा जानु भएकी राष्ट्रपति भण्डारी आगामी बैशाख १९ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ । रासस