आज विश्व नृत्य दिवसः विविध कार्यक्रम गरी मनाइदै

आज विश्व नृत्य दिवसः विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं, १६ वैशाख । विश्व नृत्य दिवस विविध कार्यक्रम गरी नेपालमा पनि आज मनाइँदैछ । अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस अंग्रेजी पात्रोअनुसार हरेक वर्ष अप्रिल महिनाको २९ तारिखमा पर्छ ।

नृत्य कलालाई उचित सम्मान, त्यसप्रति मानिसको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी विविध नृत्यकला प्रदर्शन गरी यो दिवस मनाइदैछ । नृत्य अर्थात सरल भाषामा नाच्नु, मानव सभ्यताको धेरै पुरानो चलनहरुमा नृत्य पनि एउटा चलन हो ।

विश्व नृत्य दिवसको दिन मनाइनुको प्रमुख उद्धेश्य भनेकै विश्वस्तरमा जनसर्वसाधारण माझ प्राचीनकालदेखि विकसित भइआएको नृत्यकला एवं त्यसको संस्कृतिको महत्व दर्शाउनु र नृत्यकलाप्रति सबैको ध्यानाकर्षण तथा जागरुकता बढाउनु रहेको छ | त्यसको साथ साथै सरकार मार्फत पुरै विश्वमा नृत्यकलालाई शिक्षा प्रणालीमा सम्मानपूर्वक उचित स्थान उपलब्ध गराउनु प्रमुख उद्धेश्य रहेको छ | जसअनुसार सन् २००५ मा नृत्य दिवसको अवसरमा नृत्यकलालाई संसारभर प्राथमिक शिक्षा प्रणालीमा आबद्ध तथा केन्द्रित गरिएको थियो |

नृत्यकलासंग जोडिएको हिन्दू धार्मिक प्रसङ्ग अनुसार आजभन्दा २००० वर्ष इशापूर्व त्रेतायुगमा समस्त देवताको विनयमा पर-ब्रह्माजीले नृत्यवेद तयार गरेका थिए र त्यहीबेला देखि नृत्यको उत्पति संसारमा भएको भनी धार्मिक विश्वास गरिन्छ |

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोसँग सहकार्य गरेको इन्टरनेशनल थिएटर इन्ष्टिच्युटको अन्तर्राष्ट्रिय नृत्य समितिले सन् १९८२ मा पहिलो पटक यो दिवस मनाएको थियो । त्यसपछि अन्तर्राष्ट्रिय नृत्य परिषदले दिवसको प्रवद्र्धन गरेको हो । कार्यक्रममा नेपाल म्युजिक सेन्टर ट्रष्टले दिवसमा नृत्य कलाकार बेटी बज्राचार्यलाई सम्मान गर्ने बताएको छ ।