सियान,१२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा बुद्धधर्मप्रति आस्था राख्ने सबैसँग प्रत्यक्ष सम्बन्ध राखी उनीहरुलाई एक पटक लुम्बिनीको भ्रमण गर्ने अवसर प्राप्त होस् भनी अन्तराष्ट्रिय विमानस्थल तथा होटेलजस्ता पूर्वाधार विकास गर्न नेपाल सरकारले प्रयास गरिरहेको बताएकी छन् ।
चीनको सान्सी प्रान्तका गभर्नर लियु गुओचुङ्ससँग बिहीबार भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले लुम्बिनी र सियानबीच सोझो हवाई सम्पर्कमा खासै समय नलाग्ने भएकाले वर्तमान उडानको समय घटाउन सकिने धारणा व्यक्त गरेकी हुन् । उनले इतिहासमा चिनियाँ रेशममार्ग नेपालबाट पनि गएकाले यसलाई चिनियाँ नयाँ संस्करण ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’सँग जोड्नुपर्ने बताएकी हुन् । राष्ट्रपति भण्डारीले चिनियाँ विद्वान् हुएन साङका विषयमा नेपालमा धेरै अध्ययन भएको र उनको अध्ययनमा पनि नेपालका विषयमा धेरै उल्लेख भएको बताउँदै आफूले आज बिहानै सो विषयमा धेरै कुरा जानकारी प्राप्त गरेको बताईन । उनले भनिन्, “चीनले गरेको प्रगतिलाई नेपालले सधैँ प्रशंसा गरेको छ, एक चीन नीतिलाई सधैँ समर्थन गरेको छ ।” उनले सान्सी प्रान्तका गभर्नर गुओचुङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिईन ।
भेटवार्तामा गभर्नर गुओचुङले राष्ट्रपति भण्डारीले आफ्नो राजकीय भ्रमण सान्सीबाट आरम्भ गरेकामा खुशी व्यक्त गर्दै काठमाडौँ र सान्सीबीच निकै अगाडि भगिनी सम्बन्ध स्थापना भएको उल्लेख गरे । उनले सान्सीले नेपालसँगको सहकार्य सम्बन्ध बलियो बनाउन चाहेको बताउँदै नेपाली मित्रलाई सधैँ स्वागत गरिने स्पष्ट गरे ।उनले नेपालमा चिनियाँ लगानीलाई प्रोत्साहन गरिएको र जनस्तरमा पनि दुई मुलुकबीच व्यापार सम्बन्ध विस्तार हुँदै गएको बताए । उनले नेपाल र सान्सीको वातावरण समान रहेको उल्लेख गर्दै नेपाली जनताले पनि सान्सीको स्याउ मन पराएको बताए ।
भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारी तथा सान्सी प्रान्तका सरकारी अधिकारीको सहभागिता थियो । भेटवार्तापछि राष्ट्रपति भण्डारी सान्सी प्रान्तका गभर्नर गुओचुङले आयोजना गरेको दिवाभोजमा सरिक थिइन् ।