आज विश्व पृथ्वी दिवस मनाईँदै

आज विश्व पृथ्वी दिवस मनाईँदै

काठमाडौं, ९ वैशाख । आज विश्व पृथ्वी दिवस । विश्वभरी विभिन्न कार्यक्रम गरी  मनाईदैछ । हरेक वर्षको एप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाईन्छ । दिवसको अवसरमा यो वर्षको नारा ‘मातृभूमि पृथ्वी : शिक्षा र जलवायु परिवर्तन’ भन्ने तय गरिएको छ ।

अमेरिकाले सन् १९७० अप्रिल २२ मा विश्वमा पहिलोपटक यो दिवस मनाएको थियो । सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरि पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए ।

सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघको निर्णयपछि एक सय ९२ बढि देशमा यो दिवस भव्यताका साथ मनाउने गरिएको छ । अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलार्द्ध वसन्त र दक्षिणी गोलार्द्ध शरदको मौसमयुक्त हुने गर्दछ ,मौसमको यो ध्रुविय फरक अनि विभिदताको अवसरमा पृथ्वी दिवसको मिती तोकिएको छ ।

यसैविच पृथ्वी दिवसका अवसरमा नेपालमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरिदैछ । नेपालमा पर्यावरण एवं वातावरण संरक्षणका क्षेत्रमा कार्यरत सामाजिक संघसंस्थाहरुले पृथ्वी दिवसका अवसरमा विविध कार्यक्रम गर्दै आएका छन् । पृथ्वी दिवसका दिन विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरुले पृथ्वीमा भईरहेको बढ्दो प्रदुषणका विरुद्ध चेतनामूलक कार्यक्रम आयोजना हुने गरेको छ । कतिपय देशहरुमा पृथ्वी दिवसलाई अप्रिल १६ देखि २२ सम्म सप्ताहव्यापी कार्यक्रमका रुपमा मनाउने गरिएको छ ।