जुम्ला विमानस्थल मर्मत शुरु

जुम्ला विमानस्थल मर्मत शुरु

सिञ्जा ८ वैशाख ।जुम्ला विमानस्थल सुरक्षा समितिको आग्रहमा गत कात्तिक ८ गतेदेखि जुम्ला विमानस्थल मर्मतको काम शुरु भयो । मर्मतका लागि भनेर झण्डै दुई महीना जुम्लामा जहाज सञ्चालन रोकियो तर पछि कालोपत्र भइरहेको अवस्थामा बीचमै उडान शुरु गरियो ।

एकातिर विमानस्थल सुरक्षा समितिले कालोपत्र भइरहेको भनिरहँदा कालोपत्र निर्माण पूरा नभई विमानस्थल सञ्चालनमा ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन गरेपछि यी दुई बीचमा अपरिपक्व निर्णय भएको देखिएको छ । दुई महीनामा मर्मत सकेर सञ्चालनमा आउने भनिए तापनि बीचमै सञ्चालन गरियो ।जुम्लामा मङ्सिरपछि अत्यधिक चिसोका कारण सिमेन्टको काम गर्नु हुँदैन भन्ने थाहा हुँदा हुँदै काम शुरु गर्न लगाउनु नै ठूलो कमजोरी भएको जुम्लावासी बताउँछन् । माइनस तापक्रममा कालोपत्रको काम हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि निर्माण कम्पनीलाई काम गर्न लगाउनु ठूलो कमजोरी भएको स्थानीयवासीको भनाइ छ ।

स्थानीयवासी भक्त कार्की एकै पटक हुने मर्मतको कामलाई दुई पटक गर्न लगाएर यात्रुलाई सास्ती दिइएको बताउछन् । गत कात्तिकदेखि पुससम्म बन्द गरी पुनः आधी गरेर छाडे अनि फेरि वैशाख ५ गतेदेखि उडान बन्द गरेर मर्मत गरिँदैछ ।यात्रुलाई सास्ती दिने काम भएको उनको गुनासो छ । जुम्ला विमानस्थल मर्मत गर्न २० दिनका लागि बन्द गरिएको छ । एकै काम दुई पटक गरेर स्थानीयवासीलाई सास्ती दिएको भन्दै जुम्लावासीले गुनासो गरिरहेका छन् ।

गत कात्तिकमा झण्डै ३९० मिटर धावनमार्ग कालोपत्र भइसकेको छ । बाँकी २८० मिटर धावनमार्ग कालोपत्रका लागि २० दिनका लागि फेरि विमानस्थल बन्द गरिएको छ । विमानस्थल प्रमुख कैलाश शर्माले भने, “चिसोले गर्दा कालोपत्रको काम गर्न सकिएन । अब २० दिनभित्र सकाउने गरी कामलाई अघि बढाएका छौँ, गुणस्तरीय रुपमा विमानस्थलको निर्माण काम हुनेछ ।”यता बर्षातका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । यातायात सेवा भरपर्दो छैन । दुईदुई पटक बन्द गरेर जटिल बिरामी तथा यात्रुलाई सास्ती दिइएको युवा नगेन्द्र सुनारले बताए । कालोपत्रे कामका लागि न्यूनतम १८ डिग्री सेल्सियस तापक्रम चाहिन्छ ।

जुम्ला विमानस्थल प्रमुख कैलाश शर्मा भन्छन्, “चिसोमा कालोपत्रको काम हुँदैन, कष्ट बढी हुन्छ र कामदार काम गर्न सक्दैनन्, अहिले सबै व्यवस्था भएको छ, चाँडै मर्मत हुन्छ । ” मर्मतको काम वैशाख महीनाभित्रै सकाउनुपर्नेछ । विसं २०७३ चैत ९ गते मर्मतका लागि निर्माण कम्पनीसँग सम्झौता भएकामा चैत १३ गते कार्यदिशा दिइएको थियो ।

दुई पटक म्याद थप गर्दा पनि मर्मतको काम सकिएको छैन । यो बीचका समयमा न निर्माण कम्पनीले मर्मतको काम शुरु गर्न सक्यो न त मर्मतका लागि प्राधिकरणले दवाव नै दियो । दुई पटक म्याद थपिसकेपछि मात्रै मर्मतको काम शुरु भएको हो । रु चार करोड ५२ लाख लागतमा जुम्ला विमानस्थल मर्मत भइरहेको छ ।