कांग्रेस कार्यक्रममा न ब्याज, न खादा

कांग्रेस कार्यक्रममा न ब्याज, न खादा

पूर्वअर्थराज्यमन्त्री राणाले रोपे स्वामीको बोट

-राष्ट्रवाणी समाचार-

काठमाडौं, ७ वैशाख । नेपालमा हुने साना हुन् या ठूला कार्यक्रम, सबैको एउटा साझा पहिचान हो, ब्याज र खादा वितरण । त्यसमा राजनीतिक दलका कार्यक्रममा त झन् दर्जनौं अतिथि बोलाउने र भाषणमै घण्टौं लाग्ने अनौठो विषय होइन ।

तर शनिवार नेपाली कांग्रेस शैलुङ गाउँपालिका दोलखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमको दृश्य भने फरक थियो । थोरै अतिथी । न त उनीहरुलाई ब्याज लगाइयो न खादाले नै स्वागत गरियो । कार्यक्रमका प्रमुख अतिथि कांग्रेस युवा नेता एवं पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले कार्यक्रम स्थलमा स्वामीको विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरे । नेपाली कांग्रेसले नीतिगतरुपमै पार्टीका कार्यक्रममा ब्याज र खादा लगाउने प्रचलन अन्त्य गर्ने घोषणा गरेसँगै शैलुङ गाउँपालिका दोलखा–काठमाडौं सम्पर्क समितिले यसको व्यवहारमा कार्यान्वयनमा गरेको हो ।

कांग्रेस नेता उदय शम्शेर राणाले सरकारले समृद्धिका कुरा गरेपनि व्यवहारमा भने लुटतन्त्रलाई प्रश्रय दिएको आरोप लगाए । ‘एक वर्षमै सरकारको वास्तविक अनुहार उदांगो भएको छ । प्रधानमन्त्री र मन्त्रीहरु मुखमै समृद्धि शब्द झुण्डिएको छ, तर सरकारले नै भ्रष्टाचारलाई संस्थागत गर्ने काम भएको छ, पूर्वअर्थराज्यमन्त्रीसमेत रहेका नेता राणाले भने, ‘सुनकाण्डदेखि बालुवाटार जग्गा प्रकरणसम्म सरकारकै संरक्षणमा अपराधीले छुट पाइरहेका छन् ।’

सत्तारुढ दलका महासचिव नै सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिदा पनि जिम्मेवारीबाट हटाउनुका साँटो सरकार बचाउमा लाग्नु दुर्भाग्य भएको उनले बताए ।

‘पार्टीकै महासचिव सरकारी जग्गा व्यक्तिका नाममा गर्ने काममा संलग्न रहेको प्रमाणहरु सार्वजनिक भइसकेका छन्, तर उनलाई कारवाही गर्नु त कहाँ, सरकार नै उनी ठगिएको भनेर बचाउ गरिरहेको छ,’ उनले भने, ‘एकवर्षकै बीचमा एकपछि अर्का ठूला अनियमिताका घटना भएका छन्, तर खै कारवाही गरेको ?’ उनले दुई तिहाइका नाममा सरकार अराजक बनेको आरोप लगाए । सरकारको अराजक कार्यशैलीविरुद्ध कांग्रेसले सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारीले पार्टीले आयोजना गर्न लागेको जागरण अभियानलाई सफल बनाउन कार्यकर्तालाई निर्देशन दिए । उनले सरकारविरुद्ध खवरदारी गर्न र पार्टीलाई सशक्त बनाउन सबै नेता कार्यकर्ता गाउँ गाउँ जानुपर्नेमा जोड दिए ।