सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

हेटौँडा, वैशाख ७ ।आफ्ना सन्तानलाई महङ्गो शुल्क तिरेर भए पनि निजी विद्यालयमै भर्ना गर्न चाहने अधिकांश अभिभावक अहिले भने धमाधम सामुदायिक विद्यालयमा भर्ना गराउन थालेका छन्। सामुदायिक विद्यालयको पठनपाठनमा सुधार आएपछि अभिभावकहरुले निजी विद्यालयबाट आफ्ना छोराछोरी झिकेर सामुदायिक विद्यालयमा पढाउन थालेका हुन्।

विद्यार्थी सङ्ख्या न्यून भएर कतिपय विद्यालय बन्द नै गर्नुपरेको विगतको परिस्थितिलाई आत्मसात् गरेका सामुदायिक विद्यालयले व्यापक सुधार गरेपछि परिस्थिति फेरिएको हो। मकवानपुरमै सबैभन्दा धेरै विद्यार्थी पढ्ने विद्यालय आधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि, सिद्धार्थ मावि, प्रगति मावि, महेन्द्र माविजस्ता थुप्रै सामुदायिक विद्यालयमा विद्यार्थीको चाप व्यवस्थापन गर्न यतिबेला प्रवेश परीक्षा नै लिनुपर्ने अवस्था छ।

महोत्तरीबाट आफ्ना छोरा पढाउन हेटौँडामा आएका अनिल उप्रेति यस शैक्षिक सत्रबाट आफ्ना दुई छोरा तथा एक भतिजालाई बोर्डिङ स्कुलबाट झिकेर भुटनदेवी माविमा भर्ना गराउँदै छन्। सो विद्यालयमा राम्रो पढाइ हुने गरेकाले एसइई परीक्षामा आकर्षक नतिजा देखेर बच्चालाई यहीँ सार्न लागेको उनको भनाइ छ।

हेटौँडाकै भावना पौडेल पनि आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै भर्ना गर्ने निर्णयमा पुगेको बताउँछन्। विगतमा आफ्ना छोराछोरीलाई सामुदायिक भन्दा पनि निजी विद्यालयमा पढाउन रहर गर्ने अभिभावक अहिले धमाधम आफ्ना सन्तानलाई सामुदायिक विद्यालयतर्फ सार्न थालेका छन्। प्राविधिक शिक्षा समेत पढाइ हुने भुटनदेवी माविमा विद्यार्थीको चाप थामी नसक्नु छ।

माध्यमिक तहबाटै सिभिल इञ्जिनीयरिङका पढाइ हुने यस विद्यालयमा देशका प्रायः सबै जिल्लाबाट विद्यार्थी पढ्न आउँछन्। यहाँ अहिले कक्षा ९ देखि १२ सम्म इञ्जिनीयरिङका करीब २०० विद्यार्थी अध्ययनरत छन् र प्रत्येक वर्ष ५० जना थपिने र बाहिरिने गर्छन्। यहाँ प्राविधिक तथा अन्य विषयमा पढ्न थुप्रै विद्यार्थी आउने गरेको भए पनि कक्षा ४ देखि माथि भने प्रवेश परीक्षा अनिवार्य गरेको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले जानकारी दिए।

उनका अनुसार कक्षा ४ देखि तल भने प्रवेश परीक्षा नलिने र आएका विद्यार्थीलाई व्यवस्थापन गरिने छ। अझ उनीहरुलाई अङ्ग्रेजी माध्यमबाट समेत निःशुल्क शिक्षा दिने उनको भनाइ छ। विद्यालयले स्वर्ण जयन्ती समेत मनाइसकेको तथा देशका थुप्रै क्षेत्रमा नेतृत्व दिने व्यक्तित्व उत्पादनमा महत्वपूर्ण योगदान दिइसकेको हेटौँडाकै पुरानो यस विद्यालयको मकवानपुरको शिक्षा क्षेत्रमा ठूलो योगदान रहेको छ। देशका चर्चित राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वले आफ्नो शिक्षा हासिल गरेको यो विद्यालय मकवानपुरको सबैभन्दा राम्रो भौतिक संरचनायुक्त पनि रहेको छ।

गत वर्षको एसइईमा १२१ जना सहभागी भएकामा ४० जनाले ‘ए’ र ‘ए प्लस’ तथा बाँकीले ‘बी’ र ‘बी प्लस’ ग्रेडसहितको नतिजा प्राप्त गरी सामुदायिक विद्यालयतर्फ जिल्लामा प्रथम भएको थियो। गत वर्षको नतिजा हेरेर पनि यस वर्ष विद्यार्थीको चाप बढेको हुनसक्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहालले बताए।

सरकारले ल्याएको नीति तथा स्थानीय तहको मातहतमा गएपछिको सकारात्मक पहल एवं आम जनताले सामुदायिक विद्यालय भनेको साझा सम्पत्ति हो भन्ने महसुश गरेकाले पनि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हुनसक्ने उनको ठम्याइ छ। हेटौँडाका सामुदायिक विद्यालयमा स्तरीय अध्यापन हुन थालेको तथा हेटौँडाका १९ वटै वडामा सामुदायिक विद्यालयतर्फ विद्यार्थीलाई आकर्षित गर्न शैक्षिक गुणस्तर वृद्धिलगायत अन्य अभियान थालिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए।

हेटौँडामा स्तरीय पढाइहुन्छ भनेर नै प्रदेश २ बाट समेत अत्यधिक विद्यार्थी यहाँ आउने र त्यसमध्ये अधिकांशको रोजाइमा सामुदायिक विद्यालय पर्ने गरेको उनको भनाइ छ। प्राविधिक शिक्षा पढाइ हुने विद्यालयले पनि थुप्रै विद्यार्थी आकर्षित गरिरहेको उनले बताए। स्तरीय शिक्षा प्रदानमा आफ्नो अलग्गै पहिचान बनाएका जिल्लाका आधुनिक मावि, सिद्धार्थ मावि, प्रगति माविजस्ता विद्यालयमा पनि बढीभन्दा बढी विद्यार्थी भर्नाका लागि आउने गरेको पाइएको छ। रासस