आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक भब्य उद्घाटन

आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक भब्य उद्घाटन

राँझा, वैशाख ५ गते । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँके र बर्दियाको विकासनिर्माणबारे चासो लिनुभएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न नेपालगञ्ज आउनुभएका राष्ट्रपति भण्डारीले आज ती जिल्लाका जनप्रतिनिधिसँग विकासनिर्माणबारे छलफल गर्नुभएको राष्ट्रपतिका प्रमुख सल्लाहकार भेषराज अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले जनप्रतिनिधिलाई जनताको काम सहज रुपमा गर्न आग्रह गर्नुभएको थियो । “नयाँ अनुभव भएकाले काम गर्नमा केही अलमल हुन सक्छ तर जनतालाई सहजरुपमा सेवा दिने कुरामा दत्तचित्त भएर लाग्नुहोस्”, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै अधिकारीले भन्नुभयो ।

सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश नं ५ का सङ्घीय सांसद, प्रदेशसभा सदस्य, बाँके र बर्दियाका जिल्ला समन्वय समितिका प्रमुख– उपप्रमुख तथा स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो ।

उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, प्रदेश पाँचका मुख्य मन्त्रि शंकर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटनको अवसरमा विभिन्न कसिमको झाकी प्रदर्शन गरिएकाे थियाे । यसका साथै उद्घाटन अवसरमा आतिशबाजी समेत गरिएको थियो । आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ । आठौं अन्तर्गत १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ ।