

नेपालगञ्ज, ५ वैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । प्रदेश पाँचको नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । २७ गतेदेखि नै प्रदेश पाँचका विभिन्न जिल्लाहरुमा सञ्चालन भएको आठौं राष्ट्रिय खेलकूदको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह साढे ५ बजे गर्नुहुनेछ ।
आयोजक राष्ट्रिय खेलकुद परिषदले साँझ साढे ५ बजे राष्ट्रपतिबाट प्रतियोगिताको भब्य उद्घाटन गरिने जनाएको छ । वैशाख ५ गते औपचारिक उद्घाटन भनिएपनि प्रतियोगिताको अधिकांश खेल २०७५ साल चैत २७ गतेबाट नै सुरु भईसकेका छन् ।
प्रतियोगितामा सात वटा प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र एनआरएनएको टिमको सहभागीता रहेको छ । आठौं खेलकूदमा खेलाडी, प्रशिक्षक, अफिसियल, व्यवस्थापक, रेफ्री, संघ प्रतिनिधि गरी झण्डै ११ हजारको सहभागीता रहेको छ । प्रतियोगितामा झण्डै ५ हजार २ सय ११ जना खेलाडीले सहभागिता जनाउनेछन् । त्यसमा २ हजार ८ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला सहभागि छन् ।