काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयता अनुसार नेपाल १४ औं स्थानमा रहेको छ । यसअघि नेपाल १५ औं स्थानमा रहेको थियो । टी-ट्वान्टी वरियतामा पनि नेपाल १४ औं स्थान मै रहेको छ ।
गत माघमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २-१ को जित निकालेपछि नेपाल आईसीसीको वरियतामा पर्दै आएको छ ।
उक्त सिरिजपछि नेपालले एकदिवसीय खेल खेलेको छैन । तर, अन्य टोलीको प्रदर्शन घटबढ हुँदा नेपालले एक स्थान सुधार गरेको हो ।
आईसीसीको एकदिवसीय मान्यता प्राप्त १६ राष्ट्रमध्ये १४ औं स्थानको नेपालले १५२ अंक पाएको छ । नेपाल भन्दा मुनि युएई र नेदरल्याण्ड रहेका छन् ।
वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् । यस्तै चौंथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलिया रहेका छन् ।