हेलम्बु सरकारको बजेट चैत मसान्तमै फरफारक

हेलम्बु सरकारको बजेट चैत मसान्तमै फरफारक

सिन्धुपाल्चोक । स्थानीय, प्रदेश र संघीय सरकारले लक्ष्यअनुसार, बजेट खर्च गर्न सकेको छैन । अब कर्मचारी तथा जनप्रतिनिधि वैशाखदेखि असार मसान्तसम्म बजेट खर्च गर्न रात–दिन खट्नेछन् ।

तर, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई भने चैत सकिएसँगै हाइसन्चो भएको छ । उनीहरू नयाँ वर्ष लागेसँगै फुर्सदिला भएका छन् । चालू आर्थिक वर्ष ०७५/७६ को बजेटअनुसारका सबै योजना चैत मसान्तभित्रै सम्पन्न गरेका छन् ।
‘योजनाको काम पनि सकियो, बजेट पनि सकियो,’ हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने ।

हेलम्बु सरकारले गत असारमा दोस्रो साता बजेट ल्याएको थियो । १० असारमा बसेको तेस्रो गाउँसभाले नीति कार्यक्रम तथा बजेट पारित गरेको थियो । गाउँसभाले बजेट पारित गरेसँगै योजनाको ठेक्का सम्झौता गर्न आह्वान गरेको थियो । ‘तत्काल योजना कार्यान्वयमा लग्ने नीतिअनुरूप सम्झौता गरेका थियौँ,’ अध्यक्ष शेर्पाले भने ।

यसका लागि हेलम्बु सरकारले आर्थिक ऐन बनाएर योजना सम्झौता गर्ने समयसीमा तोकेको थियो । त्यसपछि सम्झौतामै भदौ–असोजमा योजना कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरेको थियो । उपभोक्ता समितिसँग पनि असोजभित्रै कार्यान्वयन तहमा जानुपर्ने सम्झौता गरेको अध्यक्ष शेर्पाले बताए । ‘योजना सम्झौता गर्दा नै चैत मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोेकेका थियौैँ । त्यहीअनुसार सबैले काम सम्पन्न गरेका छन्,’ उनले भने ।

चैतमै योजनाहरू फरफारक भएपछि कर्मचारी र जनप्रतिनिधि फुर्सदिला भएको उनले बताए । यहाँ ३७ जनप्रतिनिधि र २० कर्मचारी कार्यरत छन् । गाउँपालिकाका अनुसार सबै योजना सम्पन्न भएका छन् । केही छुटफुट योजनाको मात्रै भुक्तानी बाँकी छ । हेलम्बुले चालू आर्थिक वर्षका ३८ करोड २९ लाख ५३ हजारको बजेट ल्याएको थियो ।

हेलम्बु सरकारले आफ्नो बजेटअन्तर्गका योजना सम्पन्न गरेपछि संघ र प्रदेश सरकारले बजेट विनियोजन गरेको योजनाको भने काम हुँदै छ । संघले र प्रदेशले बजेट पठाउन ढिला गरेकाले काम भइरहेको अध्यक्ष शेर्पाले बताए । केन्द्रले समपूरक र विशेष बजेट शीर्षकमा अर्थ मन्त्रालयबाट विनियोजित चार करोड ५१ लाख विनियोजन गरेको थियो । त्यस्तै, प्रदेश ३ सरकारले विशेष बजेटअन्तर्गत एक करोड विनियोजन गरेको छ । ती योजना कार्यान्वयन भइरहेका छन् । समपूरक र विशेष बजेटअन्तर्गत एउटा नमुना विद्यालय, पाँचवटा सडक, दुईवटा वडा कार्यालय भवन र सोलार बत्तीको काम अघि भइरहेको ।

त्यसका लागि जिल्ला समन्वय समितिले डिपीआरसहित बजेट माग गर्न यहाँका स्थानीय सरकारलाई पत्र पठाएको थियो । हेलम्बुले फागुनमै योजनाको डिपिआरसहित बजेट माग गरेको थियो । तर, सिन्धुपाल्चोकका अन्य ११ स्थानीय तहले भने समपूरक र विशेष बजेटका अझै पनि डिपिआरसहितको माग पेस नगरेको जिल्ला समन्वय समितिले जनाएको छ ।

गाउँपालिकामा वृद्धाश्रम खोल्न प्रतिबन्ध
हेलम्बु गाउँपालिकामा वृद्धाश्रम खोल्न प्रतिबन्ध लगाएको छ । बरु गाउँपालिकाले नै ‘डे केयर सेन्टर’ सञ्चालन गरेको छ । हेलम्बु–५ मा सेन्टर सञ्चालन गरिएको हो । सबै वडा र टोलमा सेन्टर सञ्चालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । जहाँ दिनभरि गाउँका ज्येष्ठ नागरिक आउने गरेका छन् । उनीहरू दिनभरि कुराकानी गरेर तथा टिभी हेरेर बस्ने गरेका छन् । गाउँपालिकाले नै दिउँसोको खाजाको व्यवस्था गरेको छ । आफैँ जान नसक्ने ज्येष्ठ नागरिकलाई गाउँपालिकाका कर्मचारीले नै बेलुका घरमा पु-याउने व्यवस्था गरिएको छ ।

अर्को वर्षका केही योजना पनि पूरा
निमा ग्याल्जेन शेर्पा, अध्यक्ष
हेलम्बुले चालू आर्थिक वर्षका योजना त सम्पन्न गरेको छ नै आगामी आर्थिक वर्ष ०७६/७७ बाट पनि एक करोडबराबरका योजनासमेत पूरा गरेको छ । आगामी वर्षको बजेटबाट स्रोतभर्ना हुने गरी काम गरेको अध्यक्ष शेर्पाले बताए । ‘यो वर्षको बजेटबाहेक थप एक करोडबराबरको योजना सम्पन्न भएको छ, ती योजनाको आगामी वर्षको बजेटबाट स्रोतभर्ना गर्छौँ,’ उनले भने । याे खबर आजकाे नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।