मनाइयो भक्तपुरको मध्यपुरथिमिमा सिन्दुर जात्रा

मनाइयो भक्तपुरको मध्यपुरथिमिमा सिन्दुर जात्रा

भक्तपुर, २ वैशाख । भक्तपुरको मध्यपुरथिमिमा ऐतिहासिक बिस्केट जात्राका अवसरमा आज खटसहितको प्रसिद्ध सिन्दुर जात्रा अर्थात् सुथः सिया जात्रा मनाइएको छ ।

केही वर्षअघिसम्म ३२ ओटा खटलाई नगर परिक्रमा गराउने प्रचलन भएपनि अहिले २३ ओटामात्र रहेको स्थानीयले बताएका छन् । सिन्दुर जात्रामा बालकुमारी र कालिकाको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ ।

जात्रा सुरु भएपछि हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइन्छ ।

थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै बाजागाजासहित सिन्दुर जात्रा मनाइएको छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सिन्दुर जात्रा मनाइने परम्परा छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी तथा छतबाट सिन्दुर छर्ने र फूल बर्साएर स्वागत गर्ने प्रचलन रहेको छ ।