

विराटनगर, २ वैशाख । नयाँ बर्षको आरम्भसँगै राजवंशी समुदायको महान चाड सिरुवा पर्व हिजोदेखि सुरु भएको छ । मुलुकको पूर्वी तराईका जिल्लाहरुमा बसोबास गर्ने राजवंशी समुदायले हिजोदेखि तीनदिन सम्म सिरुवा पर्व विशेष रुपमा मनाउने गर्छन् ।
सिरुवा पर्व अन्तर्गत हिजो पानी सिरुवा मनाईदैछ । बर्षको पहिलो दिन अर्थात् बैशाख १ गते पानी छ्यापा–छ्याप गरी ‘पानी’ सिरुवा मनाउने गरिन्छ । बर्षभरी शितलता प्राप्त होस् भन्दै पानी सिरुवा खेल्ने चलन छ । त्यस्तै आज बैशाख २ गते ‘काद’ सिरुवा मनाईनेछ । आदिवासी समुदायका राजवंशी जातिले आफुलाई भूमि पुत्रका रुपमा चित्रण गर्दै आज ‘काद’ सिरुवा मनाउने गर्छन् ।
माटोको शरीर माटोमै विलय हुने र माटोले नै जीवन धानेको भन्दै माटोलाई हिलो बनाएर एक आपसमा छ्यापा–छ्याप गरि ‘काद’ सिरुवा मनाउने गर्छन् ।
त्यस्तै सिरुवा पर्वको अन्तिम तथा तेस्रो दिन बैशाख ३ गते ‘रंग’ सिरुवा मनाईने गरिन्छ । बर्षभरी आफुले इच्छाएका विभिन्न इच्छाचाहानाहरु पुराहोस भन्ने कामनाका साथ एकआपसमा ‘रंग’ र अबिर दलेर रंग सिरुवा मनाउने गरिन्छ । सिरुवा पर्वमा राजवंशी समूदायले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा लाग्ने सिरुवा मेला घुम्नुका साथै सामूहिक रुपमा सिरुवा कार्यक्रमहरु आयोजना गरि आपसमा शुभकामना आदान प्रदान गर्ने चलन पनि छ ।
पुरानो बर्षलाई विदाई गर्ने क्रममा राजवंशी जातीले गत बर्ष फलेका विभिन्न ७ वटा तरकारीलाई मिसाएर ‘सातसागी’ बनाएर खाने गर्छन् । त्यस्तै आज ‘काद’ सिरुवाको दिन घरको कुल देवताको पुजापाठ गरि बर्षभरी घर परिवार तथा परिवारका सदस्यमा कुनै दुःख कष्ट नपरोस् भन्दै बर्षभरीका लागि ‘चातर बाध्ने’ (विशेष पुजा) गरिन्छ । यो पर्व राजवंशीसहित ताजपुरिया, चौधरी, माझी, गन्गाई लगायतका जातिले पनि मनाउने गर्छन् ।
यसैअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कम खर्चमा चाडपर्व मनाउनुपर्ने बताउनु भएको छ । सिरुवा पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपालीहरूलाई विविधताभित्र एकतामा बाँध्ने एउटा महत्वपूर्ण सूत्र चाडपर्वहरू रहेको उल्लेख गर्नु भएको छ । ‘हामीले यस प्रकारका चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढङ्गले मनाउनु पर्दछ ।’
प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ । सिरुवा पर्व मनाउने समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको उहाँले शुभकामना दिनु भएको छ । पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातिहरूले सिरुवा पर्व मनाउँछन् ।
नयाँ वर्षको रुपमा मनाइने सिरुवा पर्व तीन दिनसम्म मनाउने चलन छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आपसमा पानी छ्यापाछ्याप गरेर ‘पानी सिरुवा’ मनाइन्छ भने दोस्रो दिन हिलो छ्यापेर ‘काद सिरुवा’ मनाउने गरिन्छ । तेस्रो दिन आपसमा रङ्ग दलेर ‘रंग सिरुवा’ मनाउने गरिन्छ ।