आज चैते दशैं, शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो

आज चैते दशैं, शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो

काठमाडौं, ३० चैत। आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैं । दशैंको अवसरमा आज देवीको पूजा उपासना गर्दै चैते दशैं मनाईंदै छ ।  तिथिका कारणले २०७५ सालको चैते दशैं वर्षको अन्तिम दिन शनिबार परेको छ । यस वर्षको बैशाखमा परेको चैते दशैंको अवसरमा विभिन्न धार्मिक स्थानमा रामनवमीको मेला सुरु भएको छ। 

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशैको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं ।

आज घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वणिर्त छ ।

चैते दसैंको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । असोजको बडादसैंजस्तो यो बेलामा जमरा भने चैते दशैंमा प्रयोग हुँदैन ।

यसैबीच बागलुङमा लाग्ने ऐतिहासक चैत्राष्टमी मेला बुधबारदेखि सुरु भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा चैतै दसैँका अवसरमा आयोजित मेला आगामी वैशाख ४ गतेसम्म चल्नेछ । ‘गन्तव्य बागलुङ कालिकाः कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने नारासहित मेला सुरु गरिएको हो ।