नेपाल विद्युत प्राधिकरणको नाफा २ अर्ब ८४ करोड

 नेपाल विद्युत प्राधिकरणको नाफा २ अर्ब ८४ करोड

काठमाडौं, चैत २९ : नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्ष २०७४-७५ मा  खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

महालेखा परीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक  प्रतिवेदन अनुसार प्राधिकरणको जगेडा तथा सञ्चित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ। आर्थिक वर्ष २०७२-७३ मा जगेडा तथा सञ्चित कोष २६ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक थियो।

गत वर्षको तुलनामा बिक्रीमा खुद नाफा र चालु सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कुल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको छ। विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको महालेखाले उल्लेख गरेको छ।

कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आर्थिक वर्ष २०७४-७५मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए। महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ देखिएको हो।

२०७३ को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो। उनले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट लोडसेडिङ अन्त्यमात्रै गरेनन् घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएका छन्।

घिसिङको नेतृत्वमा विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आर्थिक वर्ष २०७३-७४ मा प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो। आर्थिक वर्ष २०७४-७५ मा नाफा बढेर झण्डै ३ अर्ब पुगेको छ।

विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी  क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मत सम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वय लगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो।

प्राधिकरणको शेयर पूँजी १ खर्ब २ अर्ब ४४ करोड, दीर्घकालीन दायित्व १ खर्ब २० अर्ब ९५ करोड ४३ लाख र चालु दायित्व ८४ अर्ब ७७ करोड ८० लाख समेत कुल पूँजी तथा दायित्व २ खर्ब ८४ अर्ब ५७ करोड २१ लाख रुपैयाँ रहेको छ।

अचल सम्पत्तितर्पm स्थिर सम्पत्ति १ खर्ब १२ अर्ब ९८ करोड, निर्माणाधीन सम्पत्ति ७७ अर्ब ६१ करोड तथा लगानी २९ अर्ब ९४ करोड समेत २ खर्ब २० अर्ब ५३ करोड ३० लाख र चालु सम्पत्ति ६४ अर्ब ३ करोड ८९ लाख रुपैयाँ रहेको छ। गत वर्ष १ अर्ब ४६ करोड ७३ लाख रहेकोमा यस वर्ष २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ।