पोखरा, २९ चैत।नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उहाँले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्लेख गर्दै कास्कीमा आगामी दिनमा संसदीय उपनिर्वाचन हुने भएकाले पार्टीलाई एक्यबद्ध हुनुपर्ने विषयमा जोड दिनुभयो ।काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ वर्ष २०७६ उपलब्धिमूलक एवं मङ्गलमय होस् भनी कामना व्यक्त गर्नुभयो । आगामी १० महीनापछि पार्टीको १४ औँ महाधिवेशन गरी काँचुली फेनुपर्ने उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले निर्धारित समयमा महाधिवेशन नभए काङ्ग्रेसलाई अपूरणीय क्षति हुने बताउनुभयो ।
उहाँले नेपाल महिला सङ्घलाई पार्टीको सङ्गठनलाई बलियो बनाउन टोल–टोलमा समिति गठन गर्न आह्वान गर्नुभयो । उक्त कार्यक्रम सङ्घकी पोखरा नगर समिति सभापति माया बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस