उपकुलपति नियुक्तिको विषयलाई लिएर सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

उपकुलपति नियुक्तिको विषयलाई लिएर सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

कञ्चनपुर, २८ चैत- कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) आबद्ध विद्यार्थीले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसङ्घले तालाबन्दी गरेको जनाएको छ ।    

तीन महिनादेखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई एकै विश्वविद्यालयमा दुई कुलपति नियुक्ति गरेकाले तालाबन्दीमा उत्रिनुपरेको नेविसङ्घ सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय समितिका संयोजक कैलाश चन्दले बताउनुभयो ।“विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठको पदाअवधि छँदाछँदै प्राध्यापक डा पूर्णबहादुर चन्दलाई निमित्त उपकुलपति तोकेपछि आन्दोलनमा उत्रिएका हौँ,” उहाँले भन्नुभयो, “विश्वविद्यालयको स्वायत्तता र ऐन नियमको अवमूल्यन गरिएको छ । यसैका विरुद्ध हाम्रो आन्दोलन हो ।”

निर्णय नसच्याउँदासम्म तालाबन्दीलगायतका आन्दोलनका कार्यक्रम जारी रहने नेविसङ्घले जनाएको छ ।रासस