

विराटनगर, चैत २७ । भारतको कोलकाता बन्दरगाहादेखि विराटनगर भन्सारका लागि छुट्ने मालवाहक विद्युतीय कार्गो रेल नेपालसम्म ल्याउने तयारी थालिएको छ ।
नेपाली उद्योगी–व्यवसायीले आयात गर्ने सामान बोकेर कोलकाताबाट विराटनगर भन्सार कार्यालयका लागि छुट्ने रेललाई सोझै नेपालसम्म ल्याउने तयारी थालिएको हो । यसअघि चैत ६ गते कोलकातादेखि भारतको बथनाहा रेल स्टेसनसम्म नेपाली पैठारीकर्ताको सामान बोकेको रेलबाट ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो टे«किङ सिस्टमको सफल परीक्षण भएको थियो । त्यो परीक्षणसँगै भारतीय भन्सार विभागले सोमबार मात्रै बथनाहा रेल स्टेसनबाट जोगबनीस्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्म ईसीटीएस कार्गो ल्याउनका लागि स्वीकृति प्रदान गरेको छ ।
भारतीय रेल स्टेसन बथनाहामा कन्टेनर अनलोड गर्नुपर्ने झन्झट हटाउन नेपालतर्फको विराटनगर १८ स्थित बुधनगरमा रहेको नेपाल कस्टर्म यार्डसम्म सोझै कार्गो ल्याउन सकिने सम्भाव्यताबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतसहितको टोलिले मङ्गलबार निरीक्षण गरेको छ । बुधनगरको आईसीपीदेखि भारतको बथनाहा रेल स्टेसन ७.६ किलोमिटर दूरीमा पर्दछ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।