काठमाडौँ, चैत २७ गते । पूर्वप्राथमिक शिक्षाको पहुँचमा नेपालको प्रगतिलाई संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले विश्वकै उदाहरणीय भन्दै प्रशंसा गरेको छ ।
युनिसेफले प्रकाशित गरेको विश्वव्यापी प्रतिवेदन अनुसार नेपालको पूर्वप्राथमिक शिक्षाको भर्ना दर ८६ प्रतिशत पुगेको उल्लेख छ । २०५७ सालमा यो प्रतिशत १२ थियो । झण्डै दुई दशकमा नेपालले गरेको यस फड्कोका लागि युनिसेफले प्रशंसा गरेको हो ।युनिसेफले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको दुई दशकको प्रगति विश्वमा नै उदाहरणीय छ ।” युनिसेफले पूर्वप्राथमिक शिक्षाका बारेमा पहिलोपटक विश्वव्यापी प्रतिवेदन तयार गरेको हो ।
नेपालले २०७३ सालमा शिक्षा ऐनको आठौं संशोधनमार्फत कक्षा १ मा भर्ना हुनुअघि एक वर्षसम्म पूर्वप्राथमिक शिक्षाको अनुभव लिएकै हुनुपर्ने व्यवस्था गरेको थियो । विगत १२ वर्षको अवधिमा प्रारम्भिक बाल विकास केन्द्रको सङ्ख्यामा ३५ गुणा वृद्धि भएको छ । २०६० सालमा यसको सङ्ख्या एक हजार ३८ रहेकोमा २०७२ सालमा आइपुग्दा ३५ हजार ९९१ पुगेको थियो ।
कम्तीमा एक वर्षको पूर्व प्राथमिक शिक्षा प्राप्त गरेका बालबालिकामा कुशलताको विकास हुन्छ भनी विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । यसबाट उनीहरूलाई विद्यालयमा उत्कृष्ट प्रदर्शन गर्न र कक्षा दोहो¥याउने वा विद्यालय छोड्ने सम्भावनाबाट टाढा रहन समेत मद्दत गर्छ ।
बाल्यकालमा प्राप्त गरेको पूर्व प्राथमिक शिक्षाले जीवनभर प्रभाव पार्ने तथ्यलाई युनिसेफले औँल्याएको छ । गुणस्तरीय पूर्व प्राथमिक शिक्षा प्राप्त गरेका बालबालिकाको स्वस्थ जीवनयापन गर्ने, भविष्यमा रोजगारी पाउने र आर्थिकरूपमा सम्पन्न हुने सम्भावना बढी हुन्छ ।नेपालमा पनि पूर्व प्राथमिक शिक्षा प्राप्त नगरेका बालबालिकाको दाँजोमा शिक्षा प्राप्त गर्नेहरूको प्रारम्भिक सिकाइ तथा गणितीय कुशलतामा विकास भएको पाइएको युनिसेफको दाबी छ ।
चार वर्ष अघि २०७१ सालमा गरिएको एउटा राष्ट्रिय सर्वेक्षणअनुसार नेपालमा प्रारम्भिक बाल शिक्षा कार्यक्रममा समावेश गराइएका तीनदेखि पाँच वर्ष उमेरका बालबालिकामा १७ गुणा बढी प्रारम्भिक सिकाइ तथा गणितीय कुशलता विकास भएको विज्ञप्तिमा उल्लेख छ ।(गोरखापत्र)