शाहरुख खानको कोलकाताको चौथो जित,उक्लियो शीर्ष स्थानमा

शाहरुख खानको कोलकाताको चौथो जित,उक्लियो शीर्ष स्थानमा

एजेन्सी,२५ चैत। भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार राति भएको खेलमा कोलकाता नाइटराइडर्सले आईपीएल क्रिकेटमा चौथो जित हात पारेको छ । हिज राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले हरायो ।

यो जितसँगै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।कोलकाताले पहिले बलिङ गर्दै राजस्थानलाई १३९ रनमा रोक्यो । त्यसपछि जितको लागि आवश्यक रन केबल २ विकेट गुमाएर भेटायो । उसलाई जितको लक्ष्य भेटाउन केबल १३.५ ओभर ब्याटिङ गर्नु पर्यो ।यो जितबाट कोलकाता आठ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लियो ।

त्यसो त महेन्द्र सिंह धोनी कप्तान रहेको चेन्नाइ सुपर किंग्सको पनि समान आठ अंक छ । तर ऊ रनरेटको आधारमा दिनेश कार्तिक कप्तान रहेको कोलकातासँग पछाडि परेको छ । हैदरावाद, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र किंग्स इलाभेन पन्जाबको समान ६-६ अंक छ । राजस्थान रोयल्स दुई अंकको साथ तालिकाको सातौं स्थानमा छ । बैंग्लोरको टिमले खाता नै खोल्न सकेको छैन ।