काठमाडौं, २४ चैत ।अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरु अभिनीत चलचित्र ‘लभ स्टेसन’ ले प्रदर्शनको दुई दिन हलमा दर्शक राम्रो उतार्न सफल भएको छ ।
प्रदर्शनको पहिलो दिन शुक्रवार र दोस्रो दिन शनिबार झरीका कारण बिहानको सोजमा दर्शक उपस्थिति न्यून भए पनि दिउँसोबाट देशभर हाउसफुल रहेको निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् ।चलचित्रले पहिलो दिनको तुलनामा शनिबार राम्रो व्यापार गरेको वितरक समेत रहेका शाही बताउँछन् । उनी भन्छन्, ‘गएको ६/७ महिनायता प्रदर्शनमा आएका चलचित्रको भन्दा ‘लभ स्टेसन’ को ओपनिङ राम्रो छ । ‘वर्ड अफ माउथ’ राम्रो भएका कारण हलमा दर्शकको संख्यामा वृद्धि भइरहेको छ । हामी दर्शक प्रतिक्रिया र चलचित्रको व्यापारबाट सन्तुष्ट छौं ।’ शनिबार चलचित्र देशभर हाउसफुल रहेको उनको भनाई छ ।
शनिबार दिउँसो मध्यम वर्गीय दर्शकको अत्याधिक चाप रहने राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका हलमा दर्शक भरिभराउ थिए । राजधानीका मल्टीप्लेक्सहरुले प्रदान गरेको सोजमा पनि दर्शकको उपस्थिति राम्रो थियो । शनिबार दिउँसो काठमाडौंको गोपिकृष्ण, विएसआर, अष्टनारायण लगायतका हलमा पुगेर चलचित्रका अभिनेता प्रदीप खड्का, प्रकाश शाह, अभिनेत्री जसिता गुरुङलगायतले दर्शक प्रतिक्रिया बुझेका थिए ।
शनिबार हलमा अभिनेता प्रदीपको गजबको क्रेज देखिएको थियो । फिल्म हेर्ने प्रायः १८/२० वर्ष उमेर समुहका उनका ‘डाइहार्ट फ्यान’ देखिन्थे । हल पुग्दा उनीसँग सेल्फी खिच्न र हात मिलाउन दर्शकहरुबीच घम्साघम्सी नै परेको थियो । दिउँसो अष्टनारायण हल पुग्दा प्रदीपलाई ‘दाई’ र जसितालाई ‘भाउजु’ भन्दै दर्शकहरुले नारा लगाएका थिए । प्रदीप चलचित्रको व्यापार र दर्शक प्रतिक्रियाबाट खुसी देखिए ।
यो चलचित्रलाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । करीब १ करोड ५० लाखको आसपासमा निर्माण भएको यो चलचित्रले घरेलु बजारबाट लगानी सुरक्षित गर्न बक्सअफिसमा ५ देखि ६ करोड छाप्नु पर्ने हुन्छ । अर्को हप्ता ठूला दुई फिल्म रिलिजका लागि तयार भएका कारण यसले यो हप्ताको कलेक्सनबाटै निर्माताको लगानी सुरक्षित गर्नुपर्ने हुन्छ । चलचित्रले दुई दिनमा ६० लाख ग्रस कलेक्सन गरेको हुनसक्ने अनुमान छ ।