भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मेलमिलापको नीति कांग्रेसको मुल नीति भएको बताएका छन् । उनले पार्टीको मुल नीति मेलमिलापलाई छोडेर कांग्रेसमा नै गुट र फुट लाग्नु दुखद् भएको बताए ।
मध्यपुरथिमि नगरसमितिले बिस्काःजात्राको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेसले मूलबाटो बिर्सिएर गुट फुटमा लागेका कारण पार्टी अहिलेको अवस्थामा पुगेको बताए । उनले भने–‘बीपीले देखाएको मेलमेलापको बाटो नै कांग्रेसको मूल बाटो हो, यो बाटोलाई कांग्रेसले बिर्सन हुन्न ।
राष्ट्रिय मेलमिलापको नीति अंगालेको कांग्रेसमै मेलमिलाप नहुन दुःखद् हो ।’ उनले पार्टीभित्रको गुट उपगुट अन्त्य गरेर मेलमिलाप र एकताको बाटोमा अगाडि बढे काग्रेस फेरि पहिलो दल बन्न कसैले रोक्न नसक्ने दावी गरे । उनले सरकारको गतिविधि संघीयता विरोधी भएको आरोप लगाए ।
सरकारले प्रदेशलाई विश्वास गर्न नसकेर सबै अधिकार आफैमा राख्दा समस्या भएको उनको दावी छ । कोइरालाले भने–‘मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला दुई तिहाईको सरकार सबै अधिकार आफैं राख्ने प्रयत्न गर्दछ । सरकारको यो कदम संघीयता विरोधी छ, यसले सरकार संघीयतामा विश्वास गर्दैन भन्ने देखाएको छ ।’ सरकार गठनको एक वर्ष बित्दा पनि ‘वाह’ र ‘धन्यवाद’ भन्ने खालको कुनै काम नभएको उनको विश्लेषण थियो ।
कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले दुई तिहाइ बहुमतको सरकारले पनि आदिवासी जनजाति, मधेशी, थारु, महिलालगायतको असन्तुष्टिलाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनमा सरकार गम्भीर नभएको आरोप लगाए ।