‘सानो मन’को गीतमा सलमान खानका ट्रेनरको निर्देशन

‘सानो मन’को गीतमा सलमान खानका ट्रेनरको निर्देशन

काठमाडाैं। यतिबेला छायांकनमा रहेको नेपाली चलचित्र ‘सानो मन’को एक गीतको भिडियोलाई बलीउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् ।  रोमन बज्राचार्य, सुयोग गुरुङ्ग र सिमा राईको  स्वरमा रहेको ‘रानु कम्मर’ बोलको पार्टी गीतमा चलचित्रका मूख्य कलाकारद्वय आयुष्मान देशराज जोशी र शिल्पा मास्केले नृत्य गरेका छन् ।

साजन बलीउड सुपरस्टार सलमान खानका ‘पर्सनल डान्स ट्रेनर’ समेत हुन् । बलीउडका प्रख्यात कोरियोग्राफर रेमो डिसुजासँग आठ बर्षसम्म काम गरेका साजनले अहिले भने आफैले कोरियोग्राफी गर्दै आएका छन् । साजनले बलीउडका चर्चित चलचित्रहरु ‘एबिसिडी’ र ‘एबिसिडी २’मा अभिनय तथा सहायक नृत्य निर्देशन गरेका थिए । उनले डान्स इण्डिया डान्सको दुई सिजनमा सहभागिता जनाएका थिए । साजनका सहयोगी आशिष बशिष्ठ पनि छायांकनको बेला नेपाल आएका थिए । आशिष ‘डान्स इण्डिया डान्स सिजन ५’मा उत्कृष्ट चारसम्म पुग्न सफल भएका थिए ।
”रानु कम्मर’को भिडियो आर्थीक हिसाबले जति महंगो हुन पुगेको छ त्यो भन्दा बढि क्वालिटीमा समेत देख्न पाईने छ’ चलचित्रका निर्देशक सुयोग गुरुङ्गले बताए । यो गीतको छायांकन राजधानीको एक रिसोर्टमा भएको हो ।
म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने ‘सानो मन’ छायांकनको अन्तिम चरणमा रहेको छ । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने चलचित्रका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । चलचित्र ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ ।
समिर सुनवार र निर्देशक गुरुङको लेखनमा चलचित्र बनिरहेको छ । आलोक शुक्लाले छायांकन गरिरहेका छन् । चलचित्रमा मनिष राईको कस्ट्युम रहेको छ भने प्रोडक्सन डिजाईनर यम प्रसाद ओली हुन् । रित बोहरा चलचित्रका मूख्य सहायक निर्देशक हुन् ।

फोटो: बिनोद पोखरेल