

बारा, २३ चैत । महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको पहलमा बारा र पर्साको हावाहुरी प्रभाबित क्षेत्रमा संचालित निःशुल्क स्वास्थ्य शिबिरमा शुक्रबार ६०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ।
निधि मेमोरियल अस्पतालको मेडिकल टिमसहितको एम्बुलेन्स बिहीबार बारा पुगेर शुक्रबार बिहानैदेखि स्वास्थ्य परीक्षण शुरु गरिएको थियो। शुक्रबार बाराको हर्दिया र परशुरामपुरमा भएको स्वास्थ्य शिबिरमा महिला र अशक्तहरुलाई घरबाटै एम्बुलेन्समा ल्याएर उपचार गरिएको थियो।
डाक्टर दीपक दत्तसहितको टिमले शनिबार बिहानैदेखि बाराको तेलगाउँमा निशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको महेन्द्रनारायण निधि मेमोरियल अस्पतालका कार्यकारी सदस्य अनामिका निधिले जानकारी दिइन्।
अर्थोपेडिक, फिजिशियन, फिजियोथेरापिष्ट, ल्याब टेक्नोलोजिष्ट, मेडिकल बायोकेमिष्ट लगायतका चिकित्सकसहित १७ जनाको टिम उपचारमा खटिएको छ। स्वास्थ्य परीक्षणपछि निशुल्क औषधिको समेत बितरण गरिएको छ।