

काठमाडौं, २३ चैत । नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आज बस्दैछ । सभापति शेरबहादर देउवाले आज बस्ने केन्द्रिय समिति बैठकमार्फत पार्टीका कार्यसम्पादन समिति गठन गर्ने तयारी गर्नुभएको छ ।
सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबिच हिजो कार्यसम्पादन समिति बनाउने विषयमा सहमति जुटेपछि आज बस्ने बैठकमार्फत सभापति देउवाले समिति गठन गर्न लाग्नुभएको एक नेताले बताएका छन् । बैठकमा संसदीय बोर्ड गठन, केन्द्रिय विभागका संयोजक चयन लगाएका विषयमा छलफल हुन सक्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
केन्द्रीय समिति बैठकको अघिल्लो दिन शुक्रबार सभापति देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी, पूर्ब पदाधिकारी र शीर्ष नेताहरुको अनौपचारिक बैठकमा भागबण्डा मिलेको बताइएको छ। सभापति देउवाले ६० र ४० को भागबण्डा गरी कार्य सम्पादन समिति टुंगो लगाउने प्रस्ताब गरेकाे बुझिएकाे छ ।
पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समितिमा सभापतिसहित ७ जना पदाधिकारी हुनेछन् भने बाँकी २१ जनामा भागवण्डा हुनेछ। देउवाबाट १७ जना पर्नेछन् भने पौडेलबाट १२ जना पर्नेछन्।
यस्तै कांग्रेसले नयाँ वर्ष २०७६ लागेसँगै जागरण अभियान चलाउने तयारी पनि गरेको छ । प्रस्तावित कार्यक्रम अनुसार मध्य बैशाखबाट सुुरु हुने जागरण अभियान तीन चरणमा हुनेछ र वर्षभर चल्ने बताईएको छ ।