काठमाडौं, २२ चैत त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रुपमा भन्सार छली लैजान लागेको करिब ५ हजार ८ सय १४.६५ ग्राम सुन सहित ४ जना भारतीय नागरिकलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जतिन जैन, सुनिता, बबिता गार्ज र सरिता जैन रहेका छन् ।
थाइल्याण्डबाट काठमाडौं आएका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको नयाँ पार्किङ एरियामा जाँच गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणको सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले जतिन जैनको साथबाट ४ सय ९७.६५ ग्राम, सुनिताको साथबाट १ हजार ७ सय ७१ ग्राम, बबिता गर्जबाट १ हजार ७ सय ७३ ग्राम र सरिता जैनबाट १ हजार ७ सय ७३ ग्राम सुन सहित बरामद गरेको हो ।
पक्राउ परेका ४ जनालाई प्रहरीले आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचर पठाएको छ ।