आज घोडे जात्राः टुँडिखेलमा तोप हानेपछि लहरे बालीको बीउ रोप्ने प्रचलन

आज घोडे जात्राः टुँडिखेलमा तोप हानेपछि लहरे बालीको बीउ रोप्ने प्रचलन

काठमाडौं, २२ चैत । आज चैत कृष्ण औँसीको दिन अर्थात् घोडेजात्रा । आज काठमाडौँको टुँडिखेलमा अश्व–घोडाकला तथा दौड प्रतियोगिता गरेर घोडेजात्रा पर्व मनाइँदै छ । टुँडिखेलमा नेपाली सेनाले र पाटन बालकुमारीमा ज्यापु समुदायबाट यो जात्रा मनाउने चलन छ ।

पाटनमा एकल कानु घोडालाई हाहाहुहु गर्दै धपाएर पाटन बजार परिक्रमा गराएर यो जात्रा मनाइन्छ । टुन्डी नामक राक्षसले सहरका बालबच्चा मार्न थालेपछि यिनै राक्षसलाई तन्त्र विधिद्वारा सहर बाहिर बाँधेर गाडेपछि घोडाको टापले सधैँका लागि थिचेर राख्नुपर्छ भनेर टुँडिखेलमा घोडेजात्रा मनाउन थालिएको इतिहास छ ।

त्यतिबेला इतिहासमा टुँडिखेल काठमाडौँ सहर बाहिर पथ्र्यो । उपत्यकाका नेवार समुदायले यो जात्रा धुमधामका साथ मनाउँछन् । यो दिनदेखि रायो चमसुर पालुङ्गो छ्यापी सूप लगायतका हरियोपरियो तरकारीको स्वाद क्रमशः समाप्त हुँदै जान्छ भन्ने मान्यता रही आएको छ ।

टुँडिखेलमा जात्राको तोप हानेपछि फर्सी, सीमी, बोडी, लौका, काँक्रो, झ्याम्टा कोसा, लगायत लहरे बालीको बीउ रोप्ने प्रचलन छ ।