

बारा, २१ चैत । नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले बारा र पर्सामा आइतबार आएको हावाहुरीमा ज्यान गुमाउने व्यक्तिको परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

नेपाली कांग्रेसको भातृ संस्था तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले बिहीबार हावाहुरी प्रभावित बारा जिल्ला पुगेर घरबार बिहीन भएका परिवारलाई राहत वितरण गर्दै मृतकको परिवारलाई सहयोग उपलब्ध गराउने बाचा गरे।
बस्नेतका अनुसार आजै उनले मकवानपुर, पर्सा, चितवन जिल्ला तरुण दलका नेता तथा कार्यकर्ताका अतिरिक्त बारा जिल्लाका पार्टी नेता, कार्यकर्तासँग बारा जिल्ला नेपाली कांग्रेस पार्टी कायालयमा हावाहुरी प्रभावित क्षेत्रमा के कसरी राहत वितरण कार्य प्रभावकारी बनाउन र पीडितको दुःखमा साथ दिन सकिन्छ भनि छलफल गरेका थिए।

केन्द्रीय अध्यक्ष बस्नेतले उक्त विपदमा परी घाइते भएका विरामीहरुको उपचारमा सहयोग तथा निःशुल्क उपचारको व्यवस्थाका लागि पहल गर्ने बचन दिएका थिए।
अध्यक्ष बस्नेतले तराईमा यति ठुलो विपद आएर जनधनको क्षति भएपनि सरकारले राष्ट्रिय शोक घोषणा नगरेकोमा आपत्ति जनाउँदै तत्काल राष्ट्रिय शोक घोषणा गर्न माग गरे । उनले विपदमा पनि राज्यले तराईलाई उपेक्षा गरेको भन्दै चिन्ता व्यक्त गरे । एकहप्तामा तरुण दलले आर्थिक सहयोग उपलब्ध गराउने नेपाल तरुण दल बाराका जिल्ला अध्यक्ष लोकेश सिंहले बताएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखर यादव, पर्साका कोषाध्यक्ष इम्तियाज आलम, नेविसंघका पुर्व केन्द्रिय उपाध्यक्ष संजय यादव, पर्सा चितव मकवानपुर मोहतरि तरुण दलका लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।