

काठमाडौँ,चैत २१ ।कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।
बिहीबार अपराह्न सकिएको मतगणानामा श्रेष्ठ लोकतान्त्रिक समूहका सुनीलकुमार पोखरललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । महासचिवमा भनेवामपन्थी उम्मेदवार सुरेन्द्र थापामगरलाई हराउँदै लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । तर, निर्वाचन समितिले औपचारिक रुपमा परिणाम घोषणा गर्न बाँकी छ ।
निर्वाचनबाट अध्यक्ष, उपाध्यक्षसहित धेरै पदहरुमा वामपन्थी उम्मेदवारहरु विजयी भएका छन् ।पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।
बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक-एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।