विकासका लागि राजनीतिक र नीतिगत स्थिरता कायम भएको छ : प्रधानमन्त्री ओली

विकासका लागि राजनीतिक र नीतिगत स्थिरता कायम भएको छ :  प्रधानमन्त्री ओली

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि राजनीतिक स्थिरता र नीतिगत आधार तयार भएको बताउनुभएको छ । राष्ट्रिय विकास परिषदको बैठकलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दीर्घकालीन सोचसहितको १५औं योजनाको आधार पत्रको मस्यौदालाई अन्तिम रूप दिन दुई दिने राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको हो ।

बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, संघीय संसद विषयगत समितिका सभापति, सांसद, विज्ञसहित ३ सय ५० जनाभन्दा बढीको सहभागिता रहेको छ । मुलुकलाई समृद्ध बनाउने सूचकसहितको १५ औं योजनाको आधार पत्रलाई अन्तिम रूप दिन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेका राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको राष्ट्रिय योजना आयोगका प्रवक्ता किरण रुपाखेतीले जानकारी दिनुभयो ।

आयोगले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने मुख्य लक्ष्यका साथ १५ औं योजनाको आधार पत्रको मस्यौदा तयार पारेको हो । मस्यौदालाई अन्तिम रूप दिन राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पनि जानकारी दिनुभयो ।

उहाँले परिषद बैठकले आवश्यक सुझाव दिएपछि दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्र वैशाख पहिलो हप्ताभित्र सार्वजनिक गरिसक्ने पनि बताउनुभयो । आयोगले तयार पारेको १५ औं योजनाको आधार पत्रको मस्यौंदामा कृषि, उर्जा, खनिज र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने उल्लेख गरिएको छ ।

२५ वर्षे दीर्घकालीन सोचसहितको सो आधार पत्रको मस्यौदामा ५ वर्षभित्र मुलुकमा समृद्धको सृजना गर्ने, १० वर्षभित्र समृद्धिका लागि आवश्यक काममा तीव्रता दिने कार्यक्रम पनि समावेश गरिएको आयोगका प्रवक्ता रुपाखेतीले बताउनुभयो ।